बाझाे बारी जोतेर कोदो फलायो कुश्मा नगरपालिकाले

बाझाे बारी जोतेर कोदो फलायो कुश्मा नगरपालिकाले

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ माघ ८ गते मङ्गलबार ०५:१८

जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ। कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो। नगरपालिकाले बेरोजगार...

नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताए।

उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उनले उल्लेख गरे।

बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताए।

बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उनले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गरे।

उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ। जसको मूल्य प्रतिपाथीको रु दुई सय ५० निर्धारण गरिएको छ। कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी रु चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताए।

यो मूल्यअनुसार कोदोको कूल रु ८० हजार र नलको रु १६ हजार गरी नगरपालिकाले रु ९६ हजार आम्दानी गरेको उनले जानकारी दिए।

बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो। युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताए।

स्थानीय हुमनाथ पौडेलले वनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताए। यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उनले जानकारी दिए।

राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्यअनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए।

पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गरे।

कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ। नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो। सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यता अनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार ०५:१८
प्रतिक्रिया दिनुहोस