Untitled

Untitled

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ फाल्गुण ११ गते आईतबार ०४:५०

पर्वतको जलजला-५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा फागुन ७ गते विद्यालय प्राङ्गणमा विद्यार्थी पुनर्मिलन, गुरु सम्मान तथा पूर्व विद्यार्थी संघ गठन सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यालय स्थापनाकालदेखि हालसम्मका विद्यार्थीहरु...

पर्वतको जलजला-५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा फागुन ७ गते विद्यालय प्राङ्गणमा विद्यार्थी पुनर्मिलन, गुरु सम्मान तथा पूर्व विद्यार्थी संघ गठन सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यालय स्थापनाकालदेखि हालसम्मका विद्यार्थीहरु एकत्रित भएका थिए।

कार्यक्रमको आयोजना विद्यालयमा अध्ययन गरेका SLC ब्याच २०४८ का विद्यार्थीहरुले गरेका थिए। कार्यक्रमका संयोजक चन्द्र कुमारी गुरुङले बताउनुभयो, “ब्याच २०४८ ले आयोजना गरे पनि यो कार्यक्रम सम्पूर्ण विद्यार्थीको रहेको छ। लामो इतिहास बोकेको यो विद्यालय यस क्षेत्रकै पुरानो विद्यालय भएकोले यहाँ अध्ययन गरेका विद्यार्थीहरु कुनै न कुनै समयमा एकत्रित हुनु पर्थ्यो। त्यो हामीले प्रयास गर्यौं र सबैको सहयोगले सम्भव भयो।”

कार्यक्रममा तीन चरणमा गुरुहरुलाई सम्मान गरिएको थियो। पहिलो चरणमा २०४८ सालमा अध्यापन गरेका गुरुहरु, त्यसपछि अध्यापन गरेका र कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

ब्याच २०४८ तथा कार्यक्रम आयोजक समितिका सचिव भीमनाथ रेग्मीले यो कार्यक्रम सबैको रहेको तर आयोजना गर्ने प्रयास मात्रै ब्याच २०४८ ले गरेको बताउनुभयो। उहाँले यसको सफलतामा सबै ग्राम प्रकाशका पूर्व विद्यार्थीहरुको भूमिका रहेको जनाउनुभयो।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल चितवन निवासी ७९ वर्षीय कपिलमणि रेग्मीले भावुक हुँदै आफ्नो समयका सम्पूर्ण सहकर्मीहरु (दिवंगत बाहेक) लाई यसरी पुरानो कार्यस्थलमै भेट्न पाउनु नै अभूतपूर्व भएको बताउंदै कार्यक्रम आयोजना गर्ने सम्पुरवा विद्यार्थीहरुलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा दिवंगत शिक्षक तथा कर्मचारीहरुको तस्वीरमा माल्यार्पण गरिएको थियो भने सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। साथै, गुरुबन्दना पनि गरिएको थियो।

सोहि कार्यक्रममा विद्यालयका पुर्व शिक्षक  जय प्रसाद सुबेदीले रु. १ लाख ११ हजार १ सय रुपियाँको छात्रवृत्ति कोष समेत स्थापना गर्नुभयो । उहाँले छात्रवृत्ति वितरणको कार्यविधि र चेक विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेल र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष याम शर्मा पौडेललाई हस्तान्तरण गर्नुभएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुकुन्द पौडेल, पूर्व शिक्षक नारायण प्रसाद सुबेदी, पूर्व शिक्षक माधव रेग्मी, धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक, ब्याच २०४० का विद्यार्थी तथा पूर्व शिक्षक हिरालाल रेग्मी, विद्यालयका पूर्व विद्यार्थीहरुको तर्फबाट २०४९ सालका SLC ब्याचका कृष्ण बहादुर जिसी, ब्याच २०५१ का तर्फबाट नेपाल सरकारका उपसचिव डा. नारायण सुबेदी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

भेलाले पूर्व विद्यार्थी संघ तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिले २०८२ सालको असोजमा बृहत भेला गरी पूर्व विद्यार्थी संघलाई पूर्णता दिने निर्णय गरेको छ।

कार्यक्रम ब्याच २०४८ का चन्द्र कुमारी गुरुङको अध्यक्षतामा, विद्यालयका पूर्व प्रधानाध्यापक डिल्लीराम रकालाको प्रमुख आतिथ्यतामा, तुलसी रेग्मीको स्वागत तथा भीमनाथ रेग्मीको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति २०८१ फाल्गुण ११ गते आईतबार ०४:५०
प्रतिक्रिया दिनुहोस