म्याग्दी सदरमुकाम बेनीमा शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवाको अवस्था पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीको रुपमा कार्यरत कुमार र बेनीको एक स्टोर्ष पसलमा लेखाको हिसाबकिताबको काम गर्ने हरि मिल्ने साथि रहेको खुलेको छ ।
दुबै जनाले बेनीको बैँक रोडमा रहेको एक होटलमा खाना खाएपछि बाइक चढेर निस्कीएको पत्ता लागेपनि त्यसलगत्तै उनीहरु आफ्नो कोठामा नपुगेको र मोवाइल फोन समेत एकैसाथ स्विच अफ भएपछि आफन्तले खोजविनका लागि प्रहरीमा निवेदन दिएका थिए ।
बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यको आधारमा रिजालद्धय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटो (भाइरल रोड)तर्फ मोडिएको देखिएको र उक्त मोटरसाईकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानको आधारमा खोजीकार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार, रिजालद्धयको अन्य माध्ययमबाट खोजतलाज गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरु सम्पर्क विहिन भएको समयमा अबिरल बर्षा भएको र बाइकको गति तिब्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानको आधारमा सोमबारदेखि कालीगण्डकी नदी किनारमा खोजी कार्य सुरु गरिएको छ ।
मोटरसाईकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको र रातको समय भएकाले प्रत्येक्षदर्शि समेत नभएको हुँदा वेपत्ता भएका दुबै जनाको अवस्थाबारे एकिन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । सोमबार दिनभर नेपाल प्रहरी, शसस्त्र प्रहरी र वेपत्ता युवाहरुको आफन्तहरुको टोलीले नदीको किनारमा खोजी गरेपनि दुई युवासंगै उनीहरु सवार रहेको मोटरसाईकलको अवस्था पत्ता लाग्न सकेको छैन् । रिजालद्धयको आफन्तले कुनै कारणबस मोवाईल अफ गरेर बसेको भए छिटो सम्पर्कमा आउन अनुरोध गरेका छन भने दुर्घटनाको भवितव्यमा परेको हुनसक्ने भएकाले कालीगण्डकी नदीमा खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्
प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०४:०६