आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा, निर्वाचनका लागि १२ सय कर्मचारी परिचालन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा, निर्वाचनका लागि १२ सय कर्मचारी परिचालन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ फाल्गुण १२ गते मङ्गलबार १२:४८

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका...

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका सामाग्री र मतपत्र जिल्लामा आईपुगेका छन् । भने मतदान स्थल अनुसार सामाग्रीहरु रुजु गर्ने, प्याकिङ गर्ने काम समेत सम्पन्न भएको छ । यसैगरी निर्वाचनका लागि आवश्यक जनशक्ति छनौट गरिएको छ ।

पर्वतमा आगामी निर्वाचनका लागि नौ सय १२ जना कर्मचारी परिचालन गरिने भएको छ । जस मध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी तीन सय चार जना छनौट गरिएको छ । उनिहरुलाई मंगलवार र बुधवार तालिम दिएर फिल्डमा खटाउने तयारी भैरहेको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार जिल्लाका ७५ मतदान स्थल मध्ये ३५ मतदान स्थल अति संवेदनशिल, ३३ संवेदनशिल र ८ वटा सामान्य रहेका छन् । सवै मतदान स्थलमा जिल्ला सुरक्षा समितिले अनुगमन र निरिक्षण गरी सुरक्षा प्रवन्ध मिलाईसकेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय समयमा जिल्लामा उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारसँग छलफल समेत गर्दै आएको छ । जसमा निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न अनुरोध गर्दै आएको छ ।

पर्वतमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका कुनैपनि लिखित उजुरी नआएको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले बताउनुभयो । केहि छिटफुट मौखिक उजुरी आएकोमा आचारसंहिता अनुगमन सहितले सोधपुछ गर्ने, स्पष्टिकरण लिने काम गरेको तर मौखिक उजुरी अहिलेसम्म नआएको उहाँले बताउनुभयो ।

यसैगरी गत फागुन ३ गतेदेखि जिल्लाका ६१ वटै वडामा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । उनिहरुले प्रत्येक टोल र घरघरमा पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाईरहेको कार्यालयले जनाएको छ । बदर मतको संख्या न्यूनिकरण गर्ने र नागरिकलाई मतदान गर्ने तरिका सिकाउनका लागि उनिहरुलाई परिचालन गरिएको हो । मतदाता शिक्षामा खटिएका कर्मचारीहरुको अनुगमन सम्वन्धित पालिकाले गरिरहेका छन् ।

जिल्लाका राजनीतिक दलहरुले शान्तिपुर्ण रुपमा प्रचारप्रसारका कार्यक्रम संचालन गरेका कारण थप समस्याहरु नआएको उहाँले बताउनुभएको छ । विगतका वर्षहरुमा जस्तो आमसभा, कोणसभा, मोटरसाईकल र्‍याली जस्ता कार्यक्रमहरु यसपटक दलहरुले गरेका छैनन् ।

निर्वाचनको सुरक्षका लागि गाउँ गाउँमा चारवटै सुरक्षा निकायलाई परिचालन गएिको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई प्रत्येक पालिका र वडाहरुमा परिचालन गरिसकिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल, एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । पर्वत कारागारमा ३० जना मतदाता रहेका छन् भने कारागार सहित दुई अस्थायी मतदान केन्द्र रहेका छन्

प्रकाशित मिति २०८२ फाल्गुण १२ गते मङ्गलबार १२:४८
प्रतिक्रिया दिनुहोस