जिल्लाको जलजला गाउँपालिकाको नाम परिर्वतन गर्न धर्म गुरुले सुझाब दिनुभएको छ । धर्म गुरु मुक्तिनाथ पीठाधीश्वर श्वामी कमलनयन आचार्यले कालाञ्जर क्षेत्रमा पुगेर यस्तो सुझाब दिनुभएको हो । जलजला गाउँपालिका धार्मिक रुपमा आफैमा पवित्र क्षेत्र मानिन्छ ।
समुद्री सतहदेखि ३,३०८ मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ । धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको जनविश्वास रहेको छ । जहाँसुकै श्रद्धा गरे पनि कालाञ्जरको नाम उच्चारण गर्दा मात्र सिद्धि प्राप्त हुन्छ भन्ने हिन्दु धर्म शास्त्रमा मान्यता रहेको छ । विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले पवित्र कालाञ्जरको पहिचानको लागि जलजलाको नाम कालाञ्जर राख्दा पुन्य मिल्ने धर्म गुरु आचार्यको भनाई रहेको र ।जलजलाको कालाञ्जर क्षेत्रमा हम्पालको लेक पर्दछ । हम्पालको लेक भित्र ‘मृगसरोबर’ छ । जसलाई ‘इन्द्रसरोबर’को रुपमा चिनिन्छ । हिन्दु धर्म शास्त्रमा भगवानहरुलाई दुःख परेको बेलामा, दानवहरुसंगको युद्धमा पराजय भोग्नुपरेको बेलामा यहि इन्द्रसरोवरमा आएर कोहि देवता मृग र कोहि देवता चराको रुप धारण गरेर बस्ने गरेको धर्म शास्त्रमा उल्लेख भएको आचार्यले बताउनुभयो । यहाँको जल (पानी) सेचन गरेको खण्डमा भगवानहरुले रुप बदल्ने गरेको र पुनः जल सेचन गर्दा पुरानो रुपमा फर्कने गरेका कारण मृगसरोवरको जललाई इन्द्रसरोबर भनिएको धर्म गुरुको भनाई छ । आदिम कालमा १ हजार ५ सय मिटर सम्म लामो यस ताल अहिले साँधुरो भएको छ । यसको प्रवद्र्धन गर्नुपर्ने आचार्यले भनाई रहेको समाचार अर्थ वीट साप्ताहिकमा प्रकाशित छ ।
भगवान शिवले धेरै लामो समयसम्म यस स्थानमा तपस्या गरेको उल्लेख गर्दे धर्म गुरु आचार्यले यहाँ रहेको गुफामा शिव र पार्वतीले लामो समय विताएका थिए । सुन्दर, शान्त र एकान्तको प्रतिमूर्ति कालाञ्जर क्षेत्रलाई मृत्यु भयमाथिको विजय, तपस्या, शिवभक्ति तथा मोक्ष मार्गको प्रतिकको रुपमा ब्याख्या गरिएको छ । स्कन्दपुराणमा विस्तृत ब्याख्या भएको कालाञ्जर पर्वत अहिले धार्मिक पर्यटनसंगै पदयात्रामा रुचि राख्नेहरुका लागि समेत आकर्षणको केन्द्रविन्दु बनिरहेको छ । जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले यसको प्रचार प्रसार र प्रवद्र्धनमा गाउँपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।अर्थ वीट साप्ताहिकले प्रकाशन गरेको छ
प्रकाशित मिति २०८३ जेठ ८ गते शुक्रबार ०१:५२