पैयूँ गाउँपालिकाद्वारा ४२ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

पैयूँ गाउँपालिकाद्वारा ४२ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असार ९ गते मङ्गलबार ०१:०८

पर्वतको पैयूँ गाउँपालिकाको गाउँ सभाको १८औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गाउँ सभामा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी पैयूँ गाउँपालिकाका...

पर्वतको पैयूँ गाउँपालिकाको गाउँ सभाको १८औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गाउँ सभामा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले आगामी वर्षका लागि कुल ४२ करोड ७१ लाख ६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ।

गाउँ सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको उक्त बजेटमा चालु तर्फ ३२ करोड ३८ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट पारित भएसँगै गाउँ सभाबाट विभिन्न विषयगत क्षेत्रहरूमा रकम बाँडफाँड समेत गरिएको छ। जसअन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि ८ करोड ३४ लाख ५२ हजार रुपैयाँ, गाउँपालिका स्तरीय पूर्वाधार विकासका लागि ४ करोड ६१ लाख १७ हजार रुपैयाँ र वडागत बजेटका लागि २ करोड ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय सभाबाट अनुमोदन भएको छ।

यसैगरी शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिँदै गाउँ सभाबाट सामाजिक विकासतर्फ २ करोड २४ लाख ७७ हजार रुपैयाँ स्वीकृत गरिएको छ, जसमा शिक्षा क्षेत्रका लागि मात्रै १ करोड ४३ लाख २२ हजार र स्वास्थ्यका लागि ८१ लाख ५५ हजार रुपैयाँ रहनेछ। स्थानीय तहमा कृषि र पशु सेवाको विकासका लागि क्रमशः ३० लाख र ९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने आर्थिक विकासका लागि ३९ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।
वातावरण संरक्षण तथा विपद व्यवस्थापनका लागि २५ लाख, संस्थागत विकास र सुशासनतर्फ १४ लाख ३० हजार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि ६ लाख ८० हजार, न्यायिक समितिका लागि ६ लाख र सहकारी संस्था नियमनका लागि १ लाख ५० हजार रुपैयाँको बजेट सीमालाई सभाले सर्वसम्मत पारित गरेको छ।

१८औँ अधिवेशनमा प्रस्तुत नीति, कार्यक्रम र बजेटले पैयूँ गाउँपालिकाको समग्र विकास, सुशासन र जनताको आर्थिक जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गाउँपालिकाले लिएको छ।

प्रकाशित मिति २०८३ असार ९ गते मङ्गलबार ०१:०८
प्रतिक्रिया दिनुहोस