स्थानीय तहमा सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यले जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ८, ७ र ३ मा सम्पन्न गरेको छ।
जलजला गाउँपालिकाको आयोजनामा तथा धौलागिरि मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं, ८ मा वडा अध्यक्ष हरिविकास जिसी, वडा नं. ७ मा वडा अध्यक्ष टुंगनाथ आचार्य तथा वडा नं, ३ मा वडा अध्यक्ष एकेन्द्र खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य प्रमुख अतिथि तथा उपाध्यक्ष दीपक आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, प्रशासन प्रमुख हरिकृष्ण आचार्य, विभिन्न वडाका जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारी, वडा कार्यालयका कर्मचारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, खानेपानी तथा सेवा प्रवाहसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरिएको थियो। त्यसपछि सहभागी नागरिकहरूले सडक, खानेपानी, कृषि, स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा भत्ता, विकास योजनाको गुणस्तर, सेवा प्रवाह, वातावरण संरक्षण लगायतका विषयमा खुला रूपमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि राजु प्रसाद आचार्यले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच विश्वास अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताउँदै नागरिकका गुनासा र सुझावलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेवा प्रवाहलाई थप छिटो, सहज, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकासका कामलाई परिणाममुखी ढंगले अघि बढाइने बताउनुभयो।
विशिष्ट अतिथि दीपक आचार्यले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावहरूले आगामी नीति, योजना तथा बजेट निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने उल्लेख गर्दै जनताप्रति उत्तरदायी भएर काम गर्न गाउँपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा उठाइएका प्रश्नहरूको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सम्बन्धित शाखा प्रमुख तथा कर्मचारीहरूले स्पष्ट जवाफ दिँदै सेवा प्रवाहमा देखिएका समस्याको समाधान र आवश्यक सुधारका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन विष्णु गौतम र साजन परियारले संयुक्त रूपमा गर्नुभएको थियो। सहभागीहरूले यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाएको तथा विकास प्रक्रियामा नागरिक सहभागिता बढाएको धारणा व्यक्त गरेका थिए।
सार्वजनिक सुनुवाइको समापनमा गाउँपालिकाले कार्यक्रममा उठेका सबै सुझाव, गुनासा र जिज्ञासालाई अभिलेखीकरण गरी आवश्यक सुधार तथा कार्यान्वयन प्रक्रियामा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।जलजला गाउँ पालिकाे अार्थिक सहयाेगमा ,धाैलागिरि मिडिया प्रालिले सहजिकरण गरेकाे थियाे ।
प्रकाशित मिति २०८३ असार २७ गते शनिवार ०४:५९