भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ लाख ३१ हजार ९ सय २१ रुपैयाँ जम्मा गरेको हो। उक्त रकममध्ये संस्थाको तर्फबाट रु. ५ लाख तथा संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट रु. २ लाख ३१ हजार ९ सय २१ रुपैयाँ रहेको संस्थाले जनाएको छ। कर्मचारीतर्फको रकम कर्मचारीहरूको एक दिन बराबरको तलबबाट योगदान संकलन गरी व्यवस्थापन गरिएको हो।
भदौ १० गते अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
यस्तो कठिन परिस्थितिमा बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले सरकारको राहत कोषमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित नागरिकको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत युधिस्थिर भुसाल शर्माले विपद्को यस कठिन घडीमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कर्मचारीहरूको समेत सहभागितामा राहत सहयोग जुटाएको जानकारी दिए। उनले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि संस्थाको सहयोगले केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेष्डो समृद्ध लघुवित्तले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाएको छ।
प्रकाशित मिति २०८३ भदौ २१ गते आईतबार ०६:२५