काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । स्थानीयले दुर्घटनापछि जंगलमा आगोको मुस्लो देखिएको बताएका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटना भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
अहिले घटनास्थलमा ताप्लेजुङका प्रमुख अधिकारीसहितका अधिकारीहरु घटनास्थल नजिक पुगेका छन् । प्रशासनका अनुसार अहिले पनि जंगलमा आगलागी भइरहेकाले हेलिकप्टरमा सवार रहेकाहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।
प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०९:३४