नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले भूकम्प पिडित भएर पनि स्थायी घर नपाएका पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका बासिन्दाहरुलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । शंकरपोखरी थापाठाना उपशाखा अन्तर्गत गरिब, दलित तथा बिपन्न ३१ घर परिवारलाई कम्बल, बाल्टी, भाँडा लगायतका सामग्रीहरु प्रदान गरिएको शंकरपोखरी थापाठाना उपशाखा सभापति नरबहादुर थापाले जानकारी दिनुभयो ।

भूकम्प गएको ४ बर्ष हुँदा पनि उनीहरुले स्थायी बास नपाएर पिडामा बाँचीरहेको बेलामा रेडक्रसले उनीहरुको दुःखमा मल्हम लगाउने प्रयास गरेको हो । सामग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रेडक्रस समाजसेवी संस्था भएकोले नै ठूलो सहयोग गर्न नसकेपनि पिडामा बाँचेकाहरुको पिडालाई थोरै भएपनि कम गराउन सामग्रीहरु प्रदान गरिएको बताउनुभयो ।

भूकम्प गएको लामो समय भैसक्दा पनि अझै पनि भूकम्प पिडितहरुको अवस्था दयनीय हुनु दुःखद कुरा भएको उहाँको भनाई छ । उहाँले आमनागरिकहरुलाई पनि भूकम्प सहित अन्य बिभिन्न कारणले समस्यामा परेकाहरुलाई सबैले सघाएमा मानिसमा मानवीयताको विकास हुने र त्यो नै सबैभन्दा ठूलो धर्म हुने उल्लेख गर्नुभयो ।
उपशाखाका सभापति नरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अर्जुबहादुर कार्की, समाजसेवी तथा नेपाली काँग्रेसका नेता गंगाधर तिवारी, बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय बिद्यालयहरुका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । उपशाखा कार्यसमिति सदस्य हरिप्रसाद तिवारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन उपशाखाका सचिव कृष्णप्रसाद तिवारीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०१:१३