इकोनोमिक खबर । साताको अन्तिम दिन पनि सेयर बजार ओरालो लागेरै बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको कारोबारमा नेप्से दोहोरो अंकको गिरावटले निरन्तरता पाएको हो ।
साताको अन्तिम दिन नेप्सेमा १० दशमलब ७३ अंकले गिरावट आएसँगै नेप्से परिसूचकाङ्क एक हजार ४१४ दशमलव ७८ को विन्दुमा पुगेर अडिएको छ ।
नेप्सेमा गिरावटलाई निरन्तरता दिंदै विहीबारको सुरूआती कारोबारमा गिरावट आएको भए तापनि कारोबारको मध्यतिर केही समयसम्म बजार झिनो अंकले उकालो लागे पनि अन्त्यसम्म आइपुग्दा बजार ओरालो लागेरै बन्द भएको हो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि दुई दशमलव ७५ अंकको गिरावट सहित २९७ दशमलव ६२ को विन्दुमा ओर्लिएको छ ।

नयाँ सरकार गठन हुन ढिलो भएको सन्र्दभमा सरकार गठन पश्चात् बजार उकालो लाग्ने आशामा दोस्रो सेयर बजारमा लगानी भने ह्वात्तै बढेको छ । बजारमा तरलताको अभाव र सेयर कर्जामा चर्को व्याजदर भए तापनि विहीबार कारोबार हुने उच्च नै रह्यो ।
नेप्सेमा विहीबार कुल १६२ कम्पनीको सात हजार ९४५ कारोबारबाट १८ लाख ६१ हजार ६५ कित्ता सेयरको कारोबार भई जम्माजम्मी ८१ करोड ६९ लाख ९८ हजार ६२४ रूपियाँ बराबरको सेयरको खरिद बिक्री भएको छ ।
नेप्सेमा विहीबार उच्च कारोबार हुने कम्पनीमा स्टयाण्र्डड चार्टर्ड बैंक, नेपाल टेलिकम, प्रभु बैंक सस्थापक सेयर, ज्योति विकास बैंक सस्थापक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, राष्ट्रिय बीमा कम्पनी सस्थापक सेयर, प्रभु बैंक, र नेपाल बैंक लगायतका कम्पनी परेका छन् ।
केही दिनदेखि निरन्तर ओरालो क्रममा रहेको सेयर बजार मंगलबार झन् ठूलो अन्तरले ओरालो लागेको थियो । मङ्गलबार सेयर बजार नाप्ने नेप्से परिसूचक २० दशमलव ६४ अंकले ओरालो लाग्दा परिसूचक १४४७ दशमलव शून्य चार अंकमा पुगेर अडिएको थियो । लामो समयमा १५ सयबाट तल झरेको सेयर बजार मङ्गलबार अर्को रेकर्ड बनाउँदै साढे १४ सयबाट तल झरेको थियो ।
बुधबारको कारोबारमा पनि नेप्से परिसूचकाङ्कमा दोहोरो अंक अर्थात २१ दशमलव ५३ अंकको गिरावट हुँदा नेप्से परिसूचकाङ्क एक हजार ४२५ दशमलव ५१ को विन्दुमा पुगेर अडिएको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि चार दशमलव ७२ अंकको गिरावटसहित परिसूचकाङ्क ३०० दशमलव १३ को विन्दुमा झरेको थियो ।
अघिल्लो साताबाटै निरन्तर गिरावट भइरहेको सेयर बजारले यो साताको शुरूवातदेखि नै निरन्तर ओरालो झरेको थियो । आइतबार नेप्से परिसूचकाङ्क चार दशमलव १६ अंकले ओरालो लागेर एक हजार ४६७ दशमलव ९९ मा पुगेको थियो ।
प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार ०८:४९