संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पर्वतका पत्रकारहरु पनि आन्दोलित भएका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले घोषणा गरेको विरोधका कार्यक्रमलाई साथ दिदै पर्वतका पत्रकारहरु पनि आन्दोलनमा उत्रिएका हुन । पत्रकार महासंघ पर्वत शाखाको आह्वानमा भेला भएका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा बसेर धर्ना दिएका हुन ।
महासँघ पर्वतका अध्यक्ष छविलाल तिवारीका अनुसार धर्नामा सहभागी भएका सञ्चारकर्मीहरु सञ्चारमा प्रयोग हुने सञ्चार सामग्रीहरु सहित धर्नामा बसेका हुन ।
पत्रकारले समाचार लेखेकै भरमा २५ हजार देखि १० लाख रुपैंया जरिवाना तोकिनु स्वतन्त्र प्रेस माथिको कुठराघात भएकोले पत्रकारहरु आन्दोलनमा होमिनु परेको तिवारीको भनाइ छ । विधेयकका केहि बुँदाहरु प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको पत्रकारमाहासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलको भनाई छ ।
उहाँले पत्रकारहरुको लेखकीय अधिकार प्रति हस्तक्षेप हुने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि माग गर्दै पत्रकारहरु आन्दोलीत बनेको बताउनुभयो । सरोकारवालाहरूसँगको छलफल र सहमति विना नै विधेयक ल्याइएको र यसले पत्रकारहरुलाई अप्ठ्यारोमा पर्ने काम भएको भन्दै पत्रकारहरुले उक्त बिधेयकको बिरोध गरेका हुन । प्रस्तावित कानुनले खासगरि मिडिया काउन्सिललाई सरकारी निकायजस्तो बनाउन खोजेको आरोप पत्रकारहरूको छ ।
प्रकाशित मिति २०७६ जेठ ३ गते शुक्रबार ०२:३४