विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिस महल बनाउने, ज्योतिर्लिङ्ग स्थापना गर्ने र धर्मशाला बनाउने उद्धेश्यले पर्वतमा संचालित कोटीहोम तथा तुलादान महायज्ञको समापन भएको छ ।
गएको जेठ १ गतेबाट शुरु भई आजसम्म चलेको महायज्ञ ११ औँ दिनको दिनमा समापन गरिएको हो । आजको समापन कार्यक्रममा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग सधैँभरी रहने उहाँको भनाई छ । ‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ ।
तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’ उहाँले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताउनुभयो । ‘काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु, हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो, नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उहाँले भन्नभयो ।

आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताउनुभयो । महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुनपर्छ भनेर टिकाटिप्पणी गर्दै आउनुभएको छ । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच, कार्यक्रममा प्रतिनिधि सभाका सांसद पद्यम गिरी, नेपाली काँग्रेसका पूर्व मन्त्री दिपक गिरी, पण्डित इश्वरकृष्ण भुर्तेल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले महायज्ञबाट संकलन भएको रकमले विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्दा पर्वत जिल्लाको पहिचान अन्य जिल्लामा पनि पैmलिने बताउनुभयो ।हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म पर्वतको पाङमा नै भएको हो भनी पैmलाउनको लागि कोटीहोम तथा तुलादान महायज्ञ निकै सफल बनेको उहाँहरुले बताउनुभयो । महायज्ञ मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तब्य मूल आयोजक समितिका बरीष्ठ उपाध्यक्ष तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले राख्नुभएको थियो । उक्त कार्यक्रमको संचलन महायज्ञ मूल आयोजक समितिका महासचिव अच्यूत तिवारीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७६ जेठ ११ गते शनिवार ०१:३२