यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आरोहीको मृत्यु हुने संख्यामा समेत वृद्धि भएको छ।
आरोहण अनुमति खुल्ला भएकामध्येमा चारवटा हिमाल आरोहणका क्रममा १६ जना आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार सगरमाथा आरोहणका क्रममा ८, मकालु हिमाल आरोहणमा ४, कञ्चनजंघा हिमाल आरोहणमा ३ र ल्होत्से आरोहणमा १ जना आरोहीको मृत्यु भएको हो।
२ नेपालीको मृत्यु
त्यस्तै, सगरमाथा आरोहणका क्रममा नेपाली आरोही ध्रुव विष्टको मृत्यु भएको छ। आरोहणका क्रममा चुचुरोमा पुग्नुअगावै हाई अल्टिच्युटका कारण विष्टको मृत्यु भएको विभागले जनाएको छ। त्यस्तै मकालु आरोहणका क्रममा गाइड नेमा तेन्जीको मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए।
विभिन्न हिमाल आरोहणका क्रममा गत वर्ष पनि धेरै आरोहीको मृत्यु भएको थियो। विभागका अनुसार गत वर्ष र यो वर्ष मृत्यु हुनेको संख्या बराबर जस्तै छ। वसन्त ऋतुमा ३२ हिमालका लागि १ सय १६ आरोहण अनुमतिमार्फत ८ सय ९५ जनाले हिमाल आरोहणको अनुमति लिएका थिए। ३२ हिमाल आरोहण अनुमतिबाट मात्रै ४९ करोड ५९ लाख ८६ हजार ६ सय २२ रुपैयाँ रोयल्टी जम्मा भएको छ।
सगरमाथामा ६ सयभन्दा बढी आरोही
पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ३ सय ६७ विदेशी र १४ नेपाली गरी जम्मा ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए। आरोहण अनुमति लिएका पर्यटकका साथमा शेर्पा गाइड तथा भरियाहरु गरी ६ सयभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण अनुमति लिएकामध्ये दोब्बर संख्यामा आरोहीहरुले सगरमाथा आरोहण गरेका हुन्।
मृत्युको कारण ट्राफिक जाम होइनः विभाग
यसैबीच, पर्यटन विभागले आरोहणका क्रममा भएको मृत्युको समाचारमा ट्राफिक जामलाई एकमात्र कारणजसरी अभिव्यक्त गरिएकोमा असन्तुष्टि जनाएको छ। आइतबार विभागबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस मौसममा सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २४ को पालना नै नगरी विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरु राख्ने तथा फैलाउने कार्य गरेबाट सृजना भएको अवस्था तथा पुराना फोटा र भिडियोहरु राखी सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनसाय एवं दुष्प्रचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
विभागले विभिन्न मिडियाहरुबाट ट्राफिक जामलाई नै एकमात्र कारण बनाउन खोजेको भन्दै दुःख व्यक्त गरेको छ। खासगरी अन्तर्राष्ट्रिय मिडियाहरु साउथ चाइना मर्निङ पोष्ट, बीबीसी, सीएनएनलगायतमा सगरमाथामा ट्राफिक जामको कारण मृत्यु हुने संख्या बढिरहेको आशयका समाचार प्रकाशित भइरहेका बेला विभागले त्यसको खण्डन गरेको हो।
यो वर्षको वसन्तकालीन मौसममा प्रतिकूलताका कारण १४ मेमा मात्रै डोरी टांग्ने कार्य पूरा भएको, उक्त समयको सगरमाथाको अनुकूल मौसम १६ मेसम्म मात्र रहेको विभागले बताएको छ। सो समयमा अत्यन्त कम आरोहीले आरोहण गरेको जनाउँदै विभागले त्यसपछि २१ मेसम्म कुनै पनि आरोही सगरमाथा आरोहणमा नगएको बताएको छ। त्यसपछि २१–२४ मेसम्म अनुकूल मौसम भए पनि २१ मेमा योजना बनाएका आरोहीले द्रुत हावाको कारण सगरमाथा चढ्न नसकेकोले चौँथो आधारशिविरमै फर्केको विभागको भनाइ छ।
दुई रातसम्म आरोहीहरु सोही शिविरमा बसेका थिए। सोही कारण २२ र २३ तारिखमा चौँथो शिविर र त्यसमाथि केही बाक्लो संख्यामा आरोहीहरु देखिएको विभागले स्पष्ट पारेको छ। तर सोही तस्बिरका आधारमा धेरै मृत्यु ट्राफिक जामकै कारण भएको भन्ने समाचार सत्य नभएको विभागले जनाएको छ।
प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०८:०९