प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास समेत गरे ।
प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण गरेका छन् । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली भनेका छन् ।
प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा खासै बोलेका छैनन् । बरु उनले जननिर्वाचित संस्थाहरुको मर्यादामा बढ्ता जोड दिएका छन् । प्रधानमन्त्रीले सम्वोधनमा भनेका छन्, ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’
प्रधानमन्त्रीको सम्वोधनमा संस्थाहरुको मर्यादाका साथै देशको विकास र आर्थिक समृद्धिलाई जोड दिइएको छ । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएको र उत्पादन वृद्धिमा जोड दिएको बताएका छन् ।
प्रधानमन्त्रीको भनाइ छ, ‘मैले भन्दै आएको छु- गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’ हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’
प्रकाशित मिति २०७६ जेठ १५ गते बुधबार ०७:११