सामाजिक सञ्जालबाट महिलालाई अश्लिल तस्बिर र सन्देश पठाएको आरोपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल (म्यासेन्जर) मार्फत अश्लिल सन्देश र तस्बिरहरु पठाएर अभद्र ब्यवहार गरेको उजुरी परेपछि घारका मेखबहादुर खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।
अदालतबाट अनुमति लिई पुर्जी जारी गरेर पक्राउ गरिएका खड्कालाई जिल्ला प्रहरी कार्यालय बेनी ल्याइदैछ । पिडित महिलाले खड्काले आफूलाई म्यासेन्जरमा अश्लिल तस्बिर र सन्देश पठाएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
सामाजिक सञ्जालको प्रयोग गरि भएको दुरव्यवहारमा साइबर क्राइम सम्बन्धी कानुन आकर्षित हुन्छ । तर महिलाले अभद्र ब्यवहार गरेको उजुरी गरेकी छिन् । पक्राउ परेका खड्का नेकपा वडा कमिटि अध्यक्ष भएको बताइएको छ ।
प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०२:५३