बिरामीमा ज्वरोको मात्रा एक सय एक डिग्री फरेनहाइटकै हाराहारीमा छ । कतिपय बिरामीमा त्यो भन्दा बढी समेत ज्वरो आएको छ । तर पनि भक्तपुर क्यान्सर अस्पतालका डाक्टर र नर्सहरु बिरामीलाई सेवा दिइरहेका छन् ।
तस्विरमा देखिएकी एक स्वास्थ्यकर्मी क्यान्सर रोगीको अल्ट्रासाउण्ड गराइरहेकी छिन् । तर उनको मुखमा सामान्य प्रकृतिको मास्क र हातमा पञ्जा मात्रै छ । यदि बिरामीलाई कोरोना संक्रमण भएको रहेछ भने ती स्वास्थ्यकर्मीलाई पनि सर्ने सम्भावना रहन्छ । तर पनि ती स्वास्थ्यकर्मी सिमित सुरक्षा उपायबीच बिरामीको उपचारमा तल्लिन छिन् ।
अर्को तस्विरमा अस्पतालमा अर्को एक क्यान्सर बिरामीलाई केमोथेरापी दिइँदैछ । एकजना स्वास्थ्यकर्मीले गुणस्तरीय मास्क लगाएको भएपनि उनीसँग पीपीई भने छैन । अर्का स्वास्थ्यकर्मीसँग त गुणस्तरीय मास्कसमेत छैन । यदि ती बिरामीमा कोरोना संक्रमण भएको अवस्थामा ती स्वास्थ्यकर्मीलाई पनि संक्रमण हुने सम्भावना प्रचुर छ ।
उपचारमा संलग्न डाक्टर तथा नर्सहरुसँग पर्याप्त मात्रामा सुरक्षित स्वास्थ्य सामग्री छैन । केही स्वास्थ्यकर्मीसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट अर्थात् पीपीई भएपनि अधिकांश स्वास्थ्यकर्मीसँग सुरक्षा पोशाक र अन्य उपकरण छैन । तैपनि भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ३ सय क्यान्सर रोगीहरुको उपचार, केमोथेरापी तथा रेडियोथेरापी भइरहेको छ ।
सरकारी स्वामित्वको जग्गामा रहेको भएपनि भक्तपुर क्यान्सर अस्पताल पूर्ण सरकारी अस्पताल भने होइन । बेला बेलामा नेपाल सरकारले आर्थिक सहयोग गर्ने गरेको भएपनि आफ्नै आम्दानीको भरमा यो अस्पताल चलिरहेको छ ।
सरकारले कोरोना रोगसँग लड्न अरबौँ रकम छुट्टाएको भएपनि हालसम्म भक्तपुर क्यान्सर अस्पतालले भने कोरोनाबाट बच्न कुनै स्वास्थ्य उपकरण वा रकम पाएको छैन । यद्यपि अस्पतालले आफै मास्क तथा स्यानिटाइजर बनाउनुका साथै विभिन्न संघ संस्थासँग मागेर स्वास्थ्य उपकरण ल्याई सेवा दिइरहेको छ । अहिले अस्पतालले दैनिक ३ सय जना क्यान्सर रोगीको उपचार गरिरहेको छ ।
अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठले नेपाल सरकारबाट कोरोनाबाट सुरक्षित हुनका लागि हालसम्म कुनै सुविधा वा उपकरण प्राप्त गर्न नसकिएको गुनासो गरे । उनले भने, ‘राज्यले कोरोनाबाट बच्नका लागि अरबौँ रकम खर्च गरिरहेको छ । तर भक्तपुर क्यान्सर अस्पतालले हालसम्म कुनै सुविधा प्राप्त गरेको छैन । हामी जोखिम मोलेर नै क्यान्सर बिरामीलाई सेवा दिइरहेका छौँ ।’
क्यान्सर लागेका र केमोथेरापी तथा रेडियोथेरापी गरिरहेका बिरामीलाई ज्वरो आउनु सामान्य नै मानिन्छ । ज्वरो आएपछि पहिले अन्य अस्पतालमा केमोथेरापी गराइरहेका बिरामीहरु पनि अहिले ती अस्पतालले उपचार गर्न नमानेपछि भक्तपुर क्यान्सर अस्पताल पुग्ने गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठ भन्छन्, ‘पहिले अरु अस्पतालमा उपचार गराइरहेकाहरु पनि अहिले भक्तपुरमा आउने गरेका छन् । निजी अस्पतालले उपचार गराउनै नमानेपछि उनीहरु यता आएका हुन् । उनीहरुका लागि कोरोनाभन्दा ठूलो त क्यान्सर नै हो । त्यही भएर हामीले पनि उनीहरुलाई सेवा दिनुको विकल्प छैन ।’
अहिले अस्पतालले दैनिक करिब ३ सय जना बिरामीलाई सेवा दिइरहेको छ । अहिले दैनिक औसत ओपिडीमा १ सय ५० जना, भर्ना भएका बिरामी ७० जना, डे केयरमा २० जना र रेडिएसनमा ५७ जना रहेको अस्पतालले जनाएको छ ।
संक्रमण बढेपछि डाक्टर नै डराउन थाले
कोरोना भाइरसको संक्रमण दर बढेसँगै अहिले डाक्टरहरु पनि डराउन थालेको अस्पतालका निर्देशक डाक्टर ऋषिकेश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पहिले त निजी अस्पतालले ओपिडी लगायतका सबै सेवा बन्द गर्दा पनि हामीले सेवा दिइरहेका थियौँ । तर जब संक्रमणको दर बढ्यो र काठमाडौंमा पनि संक्रमण देखिन थाल्यो, अहिले भने डाक्टरहरु डराउन थालेका छन् । पीपीई नभई उपचारमा संलग्न हुन नसक्ने भन्दै डाक्टरहरुले गुनासो गर्न थालेका छन् । अबचाहिँ कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’
क्यान्सर रोगीको उपचारमा संलग्न डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले अब उपचारमा आउने बिरामीको कम्तीमा -यापिड परीक्षण हुनुपर्ने माग गर्न थालेका छन् । बिरामीसँग प्रत्यक्ष जोडिएर उपचार गर्नुपर्ने र ज्वरो आइरहने भएकाले रेडिएसनका कारणले हो वा कोरोनाको कारणले भनेर छुट्याउन पनि कठिन हुने भएकाले खतरामै काम गर्नु परिरहेको अस्पतालका अर्का चिकित्सकले बताए । संक्रमणको दर बढेको कारण अब पीपीई, एन ९५ मास्क, स्यानिटाइजर, सुज कभर, फेस सिल्ड लगायतका उपकरण नभइ काम गर्न सक्ने अवस्था नरहेको ती चिकित्सकले बताए ।
सरकारसँग सहयोगको आग्रह
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश श्रेष्ठले उपचारमा संलग्न डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘सरकारले आइसोलेसनका नाममा निजी अस्पताललाई समेत सहयोग गरेको छ । तर सामुदायिक तवरबाट चलेको क्यान्सर अस्पतालले भने अहिलेसम्म सरकारबाट कुनै सहयोग पाएको छैन । हाम्रा स्वास्थ्यकर्मीसँग पीपीईसमेत छैन । यस्तो अवस्थामा रेडियोथेरापी, केमोथेरापी र अप्रेसन कसरी गर्ने ? म सरकारलाई आग्रह गर्छु यो अस्पताललाई पनि कोरोनासँग लड्न सहयोग गरोस् ।’
प्रकाशित मिति २०७७ जेठ २ गते शुक्रबार ०३:४५