भित्रभित्रै कोरोना संक्रमण फैलिदै काठमाडौं उपत्यकामा,

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ जेठ ५ गते सोमबार ०१:३५

घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा...

घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृत्यु समेत हो ।

तीन महिनाअघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनी पछिल्लो समय व्यवसाय छाडेर टोखामा बस्दै आएकी थिइन् । २३ वैशाखमा व्यथाले च्यापेपछि आफन्तले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगे र वैशाख २४ गते छोरा जन्मियो । २५ गते डिस्चार्ज दिएपछि उनलाई सिन्धुपाल्चोक लगियो ।

गाउँ लगेको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा लगियो । त्यहाँबाट स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरे । तर, छोराको न्वारान गरेर मात्र जाने भन्दै उनीहरू घर फर्किए ।

त्यहीबेला शिक्षण अस्पतालमा उपचाररत बालिकामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भएपछि स्थानीय जनप्रतिनिधिले सोधीखोजी गरेर उनीहरूलाई तत्काल अस्पताल लैजान सुझाए । परिवारले एम्बुलेन्स खोजेर बिहीबार साँझ ९ः३० बजे धुलिखेल अस्पताल ल्याए । तर, त्यसको आधा घण्टामा नै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

परीक्षणका क्रममा उनलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । हुन त कन्ट्याक ट्रेसिङको क्रम चलिरहेकाले उनमा देखिएको संक्रमणको स्रोत बताइएको छैन ।

शिक्षण अस्पतालमा उपचाररत संक्रमितबाट ती सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण हुने सम्भावना नभएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् ।

प्रसुति वार्ड र बालिका उपचाररत न्युरो सर्जरी वार्ड फरक ठाउँमा भएकाले सम्भावना नभएको उनको दावी छ ।  ‘यो ठाउँबाट संकलन गरिएको नमुनाको परीक्षण रिपोर्ट नआइकन अहिले केही भन्न सकिदैन’ डा. दासले थपे ।

****

घटना २ : शुक्रबार काठमाडौं महामानगरपालिकाले सफाइ क्षेत्रमा काम गर्ने ६ सय ६४ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आयो । त्यसलगत्तै पीसीआर जाँच गर्नका लागि स्वाब संकलन गरियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तर, आरडीटीमा पोजेटिभ नतिजा देखिनुको अर्थ हुन्छ, उनीहरू कुनै बेला संक्रमित थिए ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरसको सक्रिय थियो  र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । जतिबेला शरीरमा भाइरस सक्रिय थियो, त्यसबेला अरूलाई सर्न पनि सक्छ ।

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित भन्छन्, ‘कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उनीहरू कुनै समय संक्रमित थिए भन्ने हो ।’

एकसाथ ३१ जनाको आरडीटी पोजेटिभ आउनुले पनि उपत्यकामा कोरोना संक्रमण छ तर संक्रमितहरू परीक्षणको दायरामा नआएका मात्र हुन् भन्ने प्रष्ट भएको उनले बताए ।

माथिका दुवै घटनाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएको छ भन्ने देखाएको डा. दीक्षितको तर्कमा अरू जनस्वास्थ्य विज्ञहरू पनि सहमत छन् ।

‘कहिलेकाहीँ फल्स पोजेटिभ आउन सक्छ । किनकी आरडीटीमा शतप्रतिशत सही रिजल्ट आउँछ भन्ने हुन्न । तर, साढे ६ सय टेस्ट गर्दा ३१ पोजेटिभ आउनु भनेको फल्स पोजेटिभ हुन सक्दैन’ जनस्वास्थ्य विज्ञ डा. विश्वनाथ कोइरालाले आफ्नो निष्कर्ष सुनाए, ‘लकडाउन भनेपछि मानिसहरूको आवतजावत रोकिएको छैन । कोरोना संक्रमण फैलिएको ठाउँबाट पनि मानिसहरू आएका छन् । त्यसैले काठमाडौं उपत्यकामा संक्रमण फैलिएको छ ।’

एन्टिबडीले दिएको संकेत

जनस्वास्थ्य विज्ञहरूका अनुसार जब मानिसको शरीरमा कोभिड–१९ को भाइरस प्रवेश गर्छ । तब शरीरमा त्यो भाइरस प्रतिरोधी क्षमता पनि विकास हुन थाल्छ । भाइरस मार्न शरीरले एक प्रकारको प्रोटिन विकास गर्छ, जसलाई एन्टिबडी भनिन्छ । यस्तो एन्टिबडी दुई किसिमको हुन्छ, आईजीजी र आईजीएम ।

ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताअनुसार ल्याइएको आरडीटी किटले मानिसको शरीरमा बनेको भाइरस प्रतिरोधी एन्टिबडी देखाउँथ्यो । तर, आईजीजी र आईजीएम छुट्याउँदैनथ्यो । त्यसको विश्वसनीयतामा पनि प्रश्न उठेको थियो ।

अहिले सरकारले नयाँ आरडीटी किट ल्याएको छ, जसले आईजीजी र आईजीएम दुवै देखाउँछ ।

प्रकाशित मिति २०७७ जेठ ५ गते सोमबार ०१:३५
प्रतिक्रिया दिनुहोस