अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् ।
पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् ।निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती केही वर्ष अगाडिदेखि नै जोखिममा थिए । तर पछिल्लो केही दिन यता लगातारको वर्षाले ती घरका वासिन्दा विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् ।
भौगोलिक जोखिमको आँकलन नगरी सडक चौडा पार्ने कामले घरहरु जोखिममा परेको स्थानीयको भनाइ छ । जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ भएको पीडित पदम विष्टले बताए । ओखरेनीमा निर्माणाधीन सडकबाट थप गिट्टी बालुवा निकाल्ने लोभले चाहिनेभन्दा पनि बढी बाटो चौडा पार्नाले पहिरो गएको विष्टको भनाइ छ ।
स्थानीयले केही दिन अघि सडक बिस्तारको क्रममा जोखिमलाई ख्याल गर्न आग्रह गर्दै सडक कार्यालयमा निवेदन पनि दिएका थिए । निर्माणाधीन तम्घास–नेटाको अर्को सडकको नाली सोही स्थानबाटै बग्दै आएकाले पनि थप पहिरो गएको विष्टले बताए ।
प्रजिअले गरे अनुगमन
पहिरोका कारण सडकसमेत भासिएको छ । खानेपानीको पम्पिङ्ग गरिएको स्थानमै पहिरो गएको छ । ठूलै पहिरो गए सयौं घर खानेपानीबाट बन्चित हुने खतरा छ । तम्घासको फोहोर व्यवस्थापन गर्ने स्थान पनि त्यहीँ रहेकाले थप पहिरो गएमा तम्घासको फोहोर मैला व्यवस्थापन गर्नसमेत असहज हुनेछ ।पहिरो गएको स्थानमा सोमबार बिहान प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इन्जिनियर, प्राविधिक, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल केही गर्न सकिने काम र वर्षा रोकिएपछि गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडि बढ्ने बताए ।
पहिरोले जोखिममा परेका वस्तीमा तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने कामसहितको प्रतिवेदन तयार पार्न सडक आयोजनका इन्जिनियरहरुलाई भनिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।











