इटाली कै शैलीमा नेपालमा कोरोनाको मृत्युदर, १८ घण्टा नवित्दै ६ को मृत्यु

इटाली कै शैलीमा नेपालमा कोरोनाको मृत्युदर, १८ घण्टा नवित्दै ६ को मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार ०७:१४

काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार दिउँसो (साढे ४ बजेतिर) स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै (शुक्रबार बिहान ९ बजेसम्म) थप ६ संक्रमितको...

काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार दिउँसो (साढे ४ बजेतिर) स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै (शुक्रबार बिहान ९ बजेसम्म) थप ६ संक्रमितको मृत्यु भएको हो।

जसमध्ये आज बिहान मात्रै ४ जनाको मृत्यु भएको हो। तीमध्ये पाटन अस्पतालमा २ जना र रुपन्देही र चितवनमा गरी २ जना छन्।

यस्तै बिहीबार साँझ काठमाडौंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको छ।

यसैगरी विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन्।

विराटनगर महानगरपालिका काेभिड-१९ टिम सुपरभाइजर हैदर अलीका अनुसार ती पुरुष आफैंले यही भदाै २ गते काेसी अस्पतालकाे प्रयाेगशालामा स्बाव संकलन गराएका थिए। भाेलिपल्टै (भदौ ३ गते) त्यसकाे रिपाेर्ट पाेजिटिभ आएको थियो।

‘त्यहाँका वडाध्यक्षले आज बिहान गराएको जानकारीअनुसार हिजो राति उहाँकाे मृत्यु भएको हो,’ सुपरभाइजर अलीले नेपालखबरसँग भने, ‘उनी १० वर्षदेखि डाइबिटिज र प्रेसरका बिरामी थिए।’

उनका अनुसार आइसोलेसन वार्डको अभावमा संक्रमितलाई घरमै बस्न भनिए पनि आवश्यक सल्लाह तथा उपचारका लागि नगरवासी सबैलाई डाक्टरको नम्बर उपलब्ध गराइएको छ।

‘सोहीबमोजिम सबैले डाक्टरलाई फोन गरिरहेका छन्,’ उनले भने, ‘हिजो राति मात्रै एक जनालाई हामीले अस्पताल पुर्याएका छौं। तर उहाँ (मृतक) ले भने हामीसँग सम्पर्क गर्नुभएको थिएन।’

यी सबै गर्दा हिजो बिहीबार दिउँसाे स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको १८ घण्टा पनि नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसले पछिल्लो समय नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको देखाएको छ।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार ०७:१४
प्रतिक्रिया दिनुहोस