असार ७, २०७५ स्याङ्जाका २ वटा वडामा स्वास्थ्य केन्द्र आजबाट सञ्चालनमा आएका छन् । पुतलीबजार नगरपालिका ४ हरिपाला र आँधीखोला गाउँपालिका ६ फापरथुममा स्वास्थ्य चौकीको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गर्नुभयो । स्वास्थ्य केन्द्रका लागि पुतलीबजार ४ मा ५ रोपनी क्षेत्रफलमा २४ कोठे भवन निर्माण गरिएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष डोलराज पोखरेलका अनुसार सो स्वास्थ्य चौकीमा सुरक्षित मातृत्व, खोप सेवा, पोषण, परिवार नियोजन, दैनिक बिरामी जाँच लगायतका सेवा प्रवाह गरिने छ । यस्तैगरी आँधीखोला ६ मा ५ रोपनी क्षेत्रफलमा १३ कोठाको भवन निर्माण गरिएको हो । स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुने बताईएको छ । केन्द्रबाट सुरक्षित मातृत्व, खोप सेवा, पोषण, अस्थाई रुपमा परिवार नियोजन सेवा, गाउँघरमा क्लिनिक, दैनिक बिरामी जाँच, घाउ चिरफार तथा ड्रेसिङ, परामर्श र प्रेषण सेवा सञ्चालन गरिने समितिले जनाएको छ ।
प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०५:२३