काठमाडौं, २९ भदौ। मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ। बैठक बालुवाटारमा साँझ ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए। बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ।
उनी नै दोहोरिने सम्भवना रहेको छ। तर, कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्थिति बुझेपछि मात्रै उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने मन्त्रस्थिति बनाएका छन्। पुनले घिसिङलाई नै दोहो¥याउने प्रस्ताव लाने तयारी गरेका छन्।
बालुवाटार स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। आजको मन्त्रिपरिषद् बैठकमा सिइओबारे छलफल चाहि हुन्छ।’
त्यस्तैगरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ।
नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन। प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्बाट निर्णय हुने बताएका थिए।
प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ०७:२२