भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका सूचना ठूलो रकम लिएर चिनियाँ पक्षलाई दिएको आरोपमा नयाँ दिल्लीमा राजीव शर्मा नामका एक जना पत्रकार पक्राउ परेका छन्।
स्वतन्त्र पत्रकार बताउने शर्मालाई सूचना उपलब्ध गराएबापत ठूलो मात्रामा रकम दिने क्रममा चिनियाँ महिला चिङ सी र उनका नेपाली सहयोगी शेर सिंह पनि पक्राउ परेको दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले शनिबार जनाएका छन्।
पक्राउ परेका शेर सिंह नामका नेपाली व्यक्ति चिनियाँ महिलाको सहयोगी भएको इन्डियन एक्सप्रेसले जनाए पनि उनीबारे विस्तृत खुलेको छैन।
दिल्ली प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा रणनीतिका विषयमा लेख्ने पत्रकार राजीव शर्माले चिनियाँ गुप्तचरहरुलाई भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना दिए बापत् मोटो रकम प्राप्त गर्दै थिए।
नेपाली नागरिक सिंह शर्मालाई पैसा दिने जिम्मेवारी पाएकी चिनियाँ महिलाको सहयोगी रहेको प्रहरीले दाबी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ।
प्रहरीले पत्रकार शर्मासहित चिनियाँ र नेपाली नागरिकलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरुको साथबाट धेरैवटा ल्यापटप, मोबाइल फोनहरु बरामद गरिएको बताइएको छ
प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ११:२८