रुपन्देहीमा बाढीको वितण्डा : ५० बढी घर डुबानमा, ६ जना घाइते

रुपन्देहीमा बाढीको वितण्डा : ५० बढी घर डुबानमा, ६ जना घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार ०६:२०

अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन्। रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरु डुबानमा परेको र ठूलो मात्रामा क्षति भएको छ। अन्तपात, लत्ताकपडा, पशुपन्छी बगेका छन्। नदी किनारका घरहरु बगेका...

अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन्। रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरु डुबानमा परेको र ठूलो मात्रामा क्षति भएको छ।

अन्तपात, लत्ताकपडा, पशुपन्छी बगेका छन्। नदी किनारका घरहरु बगेका छन् भने अन्य स्थानमा डुबानमा परेका घरहरु पनि भत्किएका छन्। डुबानका कारण केही स्थानीय घाइतेसमेत भएका छन्।

रोहिणी नदी सुकुम्बासी बस्तीमा पस्दा रोहिण गाउँपालिका–५, पिपरहवामा १८ घर डुबानमा परेका छन्। गोठहरु भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन्। यस्तै, पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति पुगेको छ।

पिपहरियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेका कारण मानवीय क्षति भने नभएको रोहिणी गाउँपालिका अध्यक्ष हिरा केवटले जानकारी दिए। नदीमा बहाव उच्च हुँदा गएराति ३ बजे बस्तीमा बाढी पसेको र आफूहरु सुरक्षित रहे पनि सामानहरु जोगाउन नसकेको स्थानीय धनबहादुर आलेले बताए। पिपरहियामा २०६६ मा रोहिणी नदी बस्तीमा पस्ता ८ र २०७३ मा १४ घर बगेका थिए।

पटकपटक बस्तीका घरहरु बग्दा र डुवानमा पर्दा ठूलो क्षति भए पनि तटबन्ध र बस्ती स्थानान्तरणतर्फ कसैको ध्यान गएको छैन । स्थानीय भिमीसरा आलेले आफूहरुलाई अन्यत्र सार्न नभए तटबन्ध लगाइदिन माग गरिन् । उनले भनिन्, ‘सानोतिनो क्षति बर्सेनि हुन्छ, यसपल्ट बस्नै नमिल्ने गरी घरहरुमा क्षति पुगेको छ । हामीलाई राम्रो वासस्थानको व्यवस्था होस् ।’

भीषण वर्षा हुँदा रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी सांस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्तीहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढी पस्दा मर्चवार सडक नै अबरुद्ध भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १३ मा स्थानीय बलिराम हरिजनको खरले छाएको कच्ची घर भत्किँदा उनकी श्रीमती कुसुमको दाहिने खुट्टा भाँच्चिएको छ। लुम्बिनीकै वडा नम्बर १२ मा ४ वटा घरका पर्खाल भत्किएका छन्। तिलोत्तमा नगरपालिका ८ सातकुला नहरले ४५ वर्षीय ठाकुरप्रसाद थारुको ब्लक र जस्ताले बनेको एकतले कच्ची घर भत्काएको छ।

तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्की, रघुवीर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको छ। तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा ४ हजार कुखुरा मरेका छन्। खोरमा काम गर्ने ५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रमुख एसपी तेज पाठकले जानकारी दिए।

देवदह नगरपालिका १० रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोलाछेउ रहेको राम श्रेष्ठको ३ कोठे ब्लक र जस्ताले बनाएको घर र २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ। वर्षाका कारण सम्मरीमाई ५ देबन्डीको प्रभावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएका छन्। घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।

सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोला लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पुर्याएको छ। यस्तै, बुटवल उपमहानगरपालिका, १७ रानीगन्जमा तिनाउ नदीले उमेश हरिजन, र पुरुषोत्तम पुरीको घर बगाएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

यस्तै, नेपाल आयल निगमले इन्धन भण्डारणका लागि किनेको रोहिणी नदी छेउको जग्गा पनि पूर्णरुपमा डुबानमा परेको छ। सो जग्गामा करिब ५ मिटरसम्म डुबान परेको छ।

अहिलेसम्म रुपन्देहीमा मानवीय क्षति नभए पनि धनमालको भने ठूलो क्षति भएको छ।

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार ०६:२०
प्रतिक्रिया दिनुहोस