पर्वतका चितुवा पिडितहरुले पाए राहत, मन्त्री लम्सालद्धारा वितरण

पर्वतका चितुवा पिडितहरुले पाए राहत, मन्त्री लम्सालद्धारा वितरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १९ गते सोमबार १२:०६

  पर्वत- अशोज १८/पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पिडितलाई राहात वितरण गरिएको छ । डिभिजन बन कार्यालय पर्वतले राहातको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पिडितहरुलाई राहात तथा क्षतिपुर्ति रकम वितरण गरेको हो...

 

पर्वत- अशोज १८/पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पिडितलाई राहात वितरण गरिएको छ । डिभिजन बन कार्यालय पर्वतले राहातको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पिडितहरुलाई राहात तथा क्षतिपुर्ति रकम वितरण गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त रकम पिडितहरुलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले बन्यजन्तुलाई बनमा नै रहने बातावरण सिर्जना गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो ।

उहाँले बन्यजन्तु बनमा बस्ने उपयुक्त वातावरण नभएकै कारण समुदायमा छिर्ने र हिंस्रक बनेर आक्रमण गर्ने गरेको बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशमा बन्यजन्तुबाट मानिस र घरपालुवा जनावरमा आक्रमण गर्ने क्रम बढ्दै गएकाले बन्य जन्तुको संरक्षण सँगै पर्यटन विकासको अवधारणा अघि सारिएको बताउनुभयो ।  विभिन्न १४ प्रकारका बन्यजन्तुले आक्रमण गरेमा क्षतिपुर्ति पाईनेगरी प्रदेशले कार्यविधि बनाएको समेत मन्त्री लम्सालले बताउनुभयो ।

राहात वितरणका क्रममा विभिन्न व्यक्तिहरुलाई ४ लाख ५५ हजार २ सय ५४ रुपैँया क्षतिपुर्ति स्वरुप वितरण गरिएको थियो । जसमध्ये चितुवाको आक्रमणबाट गत असारमा घाइते भएकी जलजला ४ माझफाँटकी पदमकुमारी मल्ललाई १ लाख ३७ हजार ७ सय ५४ रुपैँया प्रदान गरिएको थियो भने अन्य विभिन्न घरपालुवा जनावरको क्षति व्यहोरेका २४ जनालाई राहात रकम वितरण गरिएको थियो ।

आयोजित कार्यक्रममा भू तथा जलाधार कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल, कुश्मा नगरपालिका वडा नं. ५, ६ र ७ का वडा अध्यक्ष क्रमस चित्रकला शर्मा, रुद्र गिरी र सुवास पौडेल, डिभिजन बन अधिकृत मेघराज पौडेल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक बन अधिकृत केशव पुडासैनीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार १२:०६
प्रतिक्रिया दिनुहोस