अनसनरत वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमकाे घोषणा गरेको छ।
अनसनको २४ औँ दिन बितिसक्दासमेत सरकारले वेवास्ता गरेको भन्दै डा. केसीको जीवन रक्षाका लागि आन्दोलन घोषणा गर्न बाध्य भएको संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ।
घोषित कार्यक्रम अनुसार असोज २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी धर्ना दिने कार्यक्रम छ।
यस्तै, बिहीबारदेखि नै देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मापदण्ड अपनाइ रिले अनसन बस्ने संघका महासचिव डा बद्री रिजालले जनाएका छन्।
चिकित्सक संघले शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने भएकाे छ।
प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०१:३३