कृषि ज्ञान केन्द्र पर्वतको यस वर्षको बजेट १७ करोड, पर्वत र बागलुङका कृषक उत्साहित

कृषि ज्ञान केन्द्र पर्वतको यस वर्षको बजेट १७ करोड, पर्वत र बागलुङका कृषक उत्साहित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार ०८:४३

  पर्वत, असोज २२/ कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि...

 

पर्वत, असोज २२/ कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड २३ लाख ८ हजार रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले दिएको जानकारी अनुसार कार्यालयलाई संघ सरकारको ससर्त तर्फ ४ करोड ८० लाख ५५ हजार र प्रदेश सरकारबाट चालु तर्फ ८ करोड ४२ लाख ५३ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ ।

कृषिको व्यवसायिकरण, यान्त्रिकरण र प्रविधिकरणमा जोड दिँदै चालु वर्ष कार्यालयले कार्यक्रम सञ्चालन गर्ने रेग्मीले बताए । कार्यालयले चालु वर्ष ७२ वटा साना व्यवसायिक कृषि फर्म स्थापना तथा विस्तार गर्ने, ५ वटा स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना गर्ने, ३२ वटा ग्रीन हाउस निर्माण गर्ने, ७० वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ । यस्तै १० वटा आलु पकेट क्षेत्र विस्तार गर्ने, ५ वटा पकेटमा रैथानेवाली क्षेत्र बनाउने, ३५ ठाउँमा उन्नत कृषि प्रविधि प्रदर्शन स्थल बनाउने र २ वटा मुल्य श्रखंलामा आधारित परियोजना सञ्चालन गर्ने जनाईएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण आर्यालले साना तथा आधुनिक सिँचाई बिस्तार, च्याउ घर निर्माण, कृषि यन्त्र उपकरण खरिद, पुस्तकालय व्यवस्थापन समेतको लक्ष्य राखेको छ । १० हेक्टर जमिनमा बीउ उत्पादक गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा सामाग्री सहयोग गर्ने, दुई वटा फलफुल नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्ने, मकै, भटमास, चैतेधान खेती बिस्तार गर्दै जाने, क्षेत्रफलको आधारमा तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्ने, बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान दिने तय भएको जानकारी दिए ।
यस्तै कार्यालयले घरघरमा प्रांगारिक मल उत्पादन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयमा करेसाबारी तथा बगैँचा सहयोग कार्यक्रम, कृषक राहात तथा मागमा आधारित सहयोग कार्यक्रम तथा विभिन्न खाले प्राविधिक तालिम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कृषकले पाउने सरकारी अनुदान टाठाँबाठाले मात्रै पाउने अबस्था अन्त्य हुनुपर्ने धारणा राखेका छन ।
बजेट तथा सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले प्रदेश र संघवाट आएका कार्यक्रमहरु बास्तविक कृषकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

अनुदानका लागि मात्रै कृषि कर्म गरेको देखाउने र अनुदान लिएपछि उत्पादन छाड्ने प्रबृत्तिलाई निरुत्साहित गर्दैै तल्लो तहका कृषक संग पु¥याउनुपर्छ भन्नुभयो । ‘ग्रामीण क्षेत्रमा रहेका बास्तविक कृषकहरु अहिलेपनि राज्यका सेवा सुविधावाट बञ्चित रहेका छन’ उहाँले भन्नुभयो ‘राज्यले दिने अनुदान टाठवाठालाई मात्र नभई जो जीवनयापनका लागि संघर्ष गरिरहेको छ उनीहरु सम्म पनि पुग्नुपर्छ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले कृषि र पशुपालनको अनुदान टाढाबाँठा र पहुँच हुनेका बिचमा मात्रै पुग्ने गरेको गुनासो आउने गरेको छ भन्नुभयो । उहाँले अनुदान लिनका लागि मात्रै कृषिमा लाग्ने प्रबृत्तिलाई निरुत्साहित गर्न अनुदान दिने बेलामा पनि धितो राख्ने ब्यबस्था हुन सके दुरुपयोग रोकिन्छ भन्नुभयो । उहाँले पनि सबै तहका सरकार र एउटै प्रकृतिका कार्यालयहरुले दिने अनुदान र सेवा दोहोरो पना नहुने पु¥याउनका लागि सम्बन्धित कार्यालय र जनप्रतिनिधी चनाखो हुनुपर्छ भन्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल राज्यका हरेक निकायले बजेट तथा कार्यक्रमलाई पारदर्शि रुपले संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विकट गाउँ गाउँका कृषकहरुलाई पनि राज्यले सम्वोधन गर्नुपर्नेमा जोड दिनुभयो । पैंयुँ गाउँपालिकाका प्रमुख खगेन्द्र तिवारीले प्रदेश सरकारले ठुला कृषकलाई अनुदान दिने र स्थानिय तहले पनि आफनो बजेट अनुसार अनुदान दिने काम गरिरहेको बताउँदै स्थानिय तहमा कृषि, पशु सम्बन्धी दक्ष जनशक्ति नजाँदा कार्यक्रम चलाउन कठिन हुने गरेको बताउनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी लगायतले बोल्नुभएको थियो ।
जिल्ला समन्वय समिति पर्वतका समन्वय अधिकारी सुरेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सुचना अधिकारी विश्वास काफ्ले र संचालन कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार ०८:४३
प्रतिक्रिया दिनुहोस