आइपिएल : बेंग्लोरले चेन्नईलाई ३७ रनले हरायो

आइपिएल : बेंग्लोरले चेन्नईलाई ३७ रनले हरायो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २५ गते आईतबार ०३:३६

कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा ३८औँ अर्धसतकीय इनिङ खेलेपछि शनिबार राति रोयल्स च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेकोछ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले...

कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा ३८औँ अर्धसतकीय इनिङ खेलेपछि शनिबार राति रोयल्स च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेकोछ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोड्यो ।

सन् २०१० पछि बेंग्लोरले चेन्नईमाथि जित निकालेको यो नै ठूलो अन्तर हो । त्यसबेला चेन्नई बेंग्लोरसँग ३६ रनले पराजित भएको थियो । जितसँगै बेंग्लोर आठ अंकका साथ चौथो स्थानमा उक्लेको छ । चेन्नई चार अंकका साथ छैटो स्थानमा छ । लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स छ । दिल्लीले पाँच जितका साथ १० अंक जोडेकोछ ।

१३औँ आइपिएलको २५औँ खेलमा कोहली र सिभम दुवेले अन्तिम पाँच ओभरमा उत्कृष्ट ब्याटिङ गरेका थिए । १४.३ ओभरमा वासिङटन सुन्दर गुमाउँदा बेंग्लोर ९३–४ को स्थितिमा थियो । त्यसपछि कोहली र दुवेले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै बेंग्लोरलाई बलियो स्थितिमा पुर्‍याए ।

कोहलीले ५२ बलमा चार चौका र चारै छक्का प्रहार गरी ९० रन जोडेका थिए । दुवेले १४ बलमा एक छक्का र दुई चौका प्रहार गरी २२ रन बनाए । यसैगरी ओपनर देवदत्तले ३४ बलमा २२ रन बनाए । प्रत्युत्तरमा चेन्नईको ब्याटिङ कुनै पनि समय राम्रो भएन । ओपनर सेन वाट्सनले १८ बलमा १४ रन बनाए । सो इनिङमा अम्बाती राइडुले सर्वाधिक ४२ रन जोडे । यसैगरी नरायन जगदेसनले २८ बलमा ३३ रनको योगदान दिए । रायडु र जगदेसनले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।

रायडुले ४० बलमा चार चौका र जगदेसनले २८ बलमा ३३ रन जोडदा चार चौका प्रहार गरे । चालु आइपिएलको उद्घाटन खेलमा चेन्नईले पहिलो खेलमा जित निकालेको थियो । सात मध्ये पाँच खेल चेन्नईले गुमाएको छ । यस खेलको रमाइलो पक्ष के रह्यो भने १५ महिनापछि कोहली र चेन्नईका कप्तान महेन्द्रसिंह धोनी एकैपटक देखिए । सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा यी दुवै अन्तिमपटक एकै मैदानमा देखिएका थिए ।

कोलकताको सनसनी जित 
यसैगरी १३औँ आइपिएल अन्तर्गत २४ खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पन्जावविरुद्ध दुई रनको सनसनी जित दर्ता गरेको छ । अबुधावीमा कोलकताले पहिलो ब्याटिङ गरी ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमा किंग्स ११ ले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रनमात्र जोड्यो ।

कोलकताको ब्याटिङ इनिङ्समा सुभमान गिलले ४७ बलमा ५७ रनको योगदान दिए । उनले पाँच चौका प्रहार गरे । यसैगरी म्यान अफ दी म्याच कप्तान दिनेश कातिकले २९ बलमा आठ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए ।
प्रत्युत्तरमा किंग्स ११ ले सुरुवात उत्कृष्ट गरेको थियो । फर्ममा रहेका ओपनरद्वय लोकेश राहुल र मायांक

अग्रवालले पहिलो विकेटका लागि १४.२ ओभरमा १ सय १५ रनको साझेदारी जितको आधार बनाए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा किंग्स ११ झिनो दुई रनले पराजित हुन पुग्यो ।

राहुल इनिङ्सको १८.६ ओभरमा आउट भए । उनी आउट हुँदा किंग्स ११ को अवस्था १५१–४ थियो । राहुलले ५८ बलमा ६ चौका प्रहार गरी ७४ रन जोडे । यसैगरी मायांकले ३९ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रन बनाए । नाम चलेका ब्याट्सम्यान निकोलास पुरनले १६ रन तथा ग्लेन म्याक्सवेलले १० रन जोडे ।

डाटा अनुसार कोलकताले अहिलेसम्म किंग्स ११ माथि निकै छोटो अन्तरले हराएको हो । यो आइपिएलमा दुई रनले विपक्षीलाई माथ दिने कोलकता पहिलो टोली हो । सन् २०१४ मा कोलकताले वेंग्लोरलाई दुई रनले नै हराएको थियो । यसैगरी २००८ मा कोलकताले वेंग्लोरमाथि पाँच रनको जित निकालेको थियो ।

यस खेलमा मोहमद सामीले आइपिएलमा आफ्नो ५० विकेट पुरा गरेका छन् । उनले ५८ खेलमा यो सफलता चुमेका हुन् । यसैगरी कोलकताका इयोन मोर्गानले आइपिएलमा हजार रन पुरा गरेका छन् । उनले ५८ खेलमा ५१ इनिङ्समा यो उपलब्धी हात पारे ।
१३औँ आइपिएलमा अहिलेसम्म २१ ब्याट्सम्यान रन आउट भएका छन् । जसमा किंग्स ११ का पाँच ब्याट्सम्यान रन आउटकै सिकार भए । यसैगरी पावर प्लेमा सात ब्याट्सम्यान रन आउट भए ।

प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०३:३६
प्रतिक्रिया दिनुहोस