कुश्मा ७ मा सार्वजनिक सुनुवाई सम्पन्न ,वडा कार्यालय बनाउने जग्गा खोजीने 

कुश्मा ७ मा सार्वजनिक सुनुवाई सम्पन्न ,वडा कार्यालय बनाउने जग्गा खोजीने 

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ०२:४९

  पर्वतको कुश्मा नगरपालिका ७ वडा कार्यालयले सार्वजनिक सुनुवाई र वडा व्यवस्थापनको बारेमा आज छलफल गरेको छ । वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५÷७६ र आर्थिक वर्ष २०७६÷७७ को खर्च विवरण र योजनाहरुका बारेमा सार्वजनिक सुनुवाई...

 

पर्वतको कुश्मा नगरपालिका ७ वडा कार्यालयले सार्वजनिक सुनुवाई र वडा व्यवस्थापनको बारेमा आज छलफल गरेको छ । वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५÷७६ र आर्थिक वर्ष २०७६÷७७ को खर्च विवरण र योजनाहरुका बारेमा सार्वजनिक सुनुवाई गरिएको छ । वडाका जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दलका प्रमुख, विभिन्न उपभोक्ता समिति, टोल सुधार समिति, महिला समूह, क्लव तथा सर्वसाधारणहरुले स्वास्थ्य मापदण्ड अपनाएर भेला भई सार्वजनिक सुनावाई गरिएको हो ।

वडाअध्यक्ष सुवासचन्द्र पौडेलले वडामा भएका विभिन्न विकास निर्माणका कार्य, दैनिक प्रसासनिक सेवा, खर्चको पारदर्शिता, नीतिगत व्यवस्थाका बारेमा सहभागी बाट आएका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो । उहाँले वडामा भएको खर्चमा एक रुपियाँ पनि अनियमितता नभएको र हरेक काममा पारदर्शीता अपनाईएको बताउनुभयो । सहभागीले पूँजीगत खर्चमा भन्दा चालु खर्चमा भएका हिसाव कितावमा बढि प्रश्न उठाएका थिए । वडाध्यक्ष पौडेलले शिर्षकै शिर्षक भित्रका खर्चहरु प्रस्तुत गर्नुभएको थियो ।

वडासचिव सृजना शर्माले दुई आर्थिक वर्षको चालु तथा पूजीगत खर्चको शिर्षक र आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । पहिलो सत्रमा सार्वजनिक सुनुवाई गरि दोस्रो सत्रमा वडा व्यवस्थापनको बारेमा छलफल भएको थियो । भेलामा वडा कार्यालय स्थापनाका लागि जग्गा छनौट गर्ने निर्णय पारित गरेको छ । भेलामा सहभागीहरुको वहुमतको रोजाई बाट पुर्वमा मधुरामको घर पटिटको सिमलको रुख, पश्चिममा दुर्लुङ चोक माथिको पहरा, दक्षिणमा दुर्लुङचोक खरेया मोटरबाटो र उत्तरमा महादेव पुरीको घर नजिकै रहेको समीको रुख मुनीको सेरोफेरोमा जग्गा खोजी गरि वडा कार्यालयको भवन बनाउने प्रस्ताव पारित भएको छ । हाल वडा कार्यालय भाडाको घरमा रहेको छ ।

भाडाको घरलाई आफ्नै भवन बनाएर सार्नुपर्ने विषयमा गम्भीर रुपमा छलफल भई जग्गा खोजी गर्ने भेलाले निर्णय गरेको छ । वडा सदस्य पर्शुराम पुरीले वडा कार्यालय सबैलाई पायक पर्ने स्थानमा राख्नुपर्छ भनेर भेलाले निर्णय गरेको बताउनुभयो । आफुहरुले संधै जनताको सर्बोपरी हितमा काम गर्दै आएको बताउँदै पुरीले वडामा हुने हरेक विकास निर्माणका काममा खबरदारी गरिरहन अनुरोध गर्नुभयो । उहाँले वडामा हुने हरेक काममा राजनीतिक दम्भ जनप्रतिनिधीहरुले प्रकट नगरेको बताउँदै मिलेर नै हरेक कामहरु हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाको सामाजिक विकास अधिकृत डिलकुमारी शर्मा , नेकपाका वडा संयोजक भगवान पुरी, नेपाली काँग्रेसका वडा सभापती सागर गिरी, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष लोकनाथ आचार्य लगायतको शुभकामना मन्तव्य सहित आफ्ना सुझावहरु राख्नुभयो । खुल्ला सत्रमा एक दर्जन बढिले जिज्ञाशाहरु राख्नुभएको थियो । वडाधयक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पर्शुराम पुरी राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार रोशन तिवारी र विष्णु गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०२:४९
प्रतिक्रिया दिनुहोस