कैलालीमा असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ

कैलालीमा असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २ गते आईतबार ११:०६

शनिबार रातिदेखि बेपत्ता धनगढी उप–महानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत भेटिएका छन्। कैलालीको मोहना नदीको बीचमा आइतबार उनको शव भेटिएको हो। उनीसँगै गस्तीमा निस्केका...

शनिबार रातिदेखि बेपत्ता धनगढी उप–महानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत भेटिएका छन्।

कैलालीको मोहना नदीको बीचमा आइतबार उनको शव भेटिएको हो। उनीसँगै गस्तीमा निस्केका अर्का प्रहरी जवान  रामबहादुर साउद भने भने अझै बेपत्ता छन्।

सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बेपत्ता भएकामध्ये असईको शव भेटिएको र जवान भने अझै बेपत्ता रहेको जानकारी दिए।

उनले उक्त घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म प्रहरीले ११ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए।

‘घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई पक्राउ गरेका छौँ’, नेपालखबरसँग कुरा गर्दै डीआईजी सुवेदीले भने, ‘पक्राउ पर्नेमा यसअघि तस्करी मुद्दामा परेका, आसई बिकसँग रिसिइबी रहेकाहरु रहेका छन्।’ उनले अनुसन्धानकै क्रममा रहेका कारण पक्राउ परेकाको नाम भने सार्वजनिक नगरिएको बताए।

उनले असईको शवमा चोटपटक देखिएको हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरे।

त्यस्तै बेपत्ता रहेका प्रहरी जवानको खोजीमा अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित गरिएको छ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल उनीहरु गस्तीमा निस्किएका थिए। उक्त मोटरसाइकल भने बिकको शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले बिकसँग रहेको हतियार फेला नपरेको जानकारी दिएको छ।

प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ११:०६
प्रतिक्रिया दिनुहोस