चीनको कोरोनाविरुद्धको खोप आफ्नो देशमा प्रयोग गरिने ब्राजिलले घोषणा गरेको छ।
चीनको सिनोभ्याक बायोटेक कम्पनीले निर्माण गरेको खोप किन्ने विषयमा सरकारले सहमति जनाएको साओ पाउलोका गभर्नर जोआ डोरियाले बताएका छन्।
उनका अनुसार ब्राजिलले ४ करोड ६० लाख डोज सिनोभ्याकको खोप खरिद गर्नेछ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सिनोभ्याकको खोप ब्राजिलले खरिद गर्न लागेको हो।
आगामी वर्षको सुरुवातदेखि नै खोप कार्यक्रम सुरु हुने ब्राजिलले जनाएको छ। सिनोभ्याकको खोप हाल ब्राजिलमा तेस्रो चरणको परीक्षणका लागि प्रयोग भएका छन्।
हालसम्म ९ हजारमा प्रयोग भएको सिनोभ्याकको खोपले तेस्रो चरणको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा दिएको बताइएको छ।
यो खोप सुरक्षित भएको र यसमा अन्य असर नदेखिएपछि ब्राजिलले सिनोभ्याककै खोप खरिद गर्ने जनाएको हो। एजेन्सी
प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०७:५२