नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइने

नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०४:३६

मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इञ्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि...

मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ ।

निगमको इञ्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गएको साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो ।

‘बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ भोलि नेपाल फर्किंदैछ’, सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।

निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइड बडी विमान खरिद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् ।

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०४:३६
प्रतिक्रिया दिनुहोस