सदनमा छताछुल्ल भयो सभामुख र विपक्षीको ‘झगडा’ सभामुखमा नेकपाको रुझान, विपक्षीको प्रहार सभामुखतिर

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ८ गते मङ्गलबार ०४:११

। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् । नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको...

। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् ।
नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको छ ।

सभामुखले माफी माग्नुका साथै आइन्दा यस्तो घटना नदोहोर्‍याउने विश्वास नदिलाउँदासम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

दिवंगत नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुई अस्पताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले सोमबार नै संसद अवरुद्ध गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न प्रस्ताव गरेको भए पनि मन्त्रिपरिषदले तनहुँमा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई छाडेर निर्णय गर्‍यो । यो कांग्रेसको अस्तित्व अस्वीकार गर्ने प्रारम्भ मात्र भएको भन्दै कांग्रेसले सरकारलाई दबाव दिइरहेको छ ।

मंगलबारको बैठकको सुरुमा नै बोलेका सांसद प्रकाशमान सिंहले दुबै अस्पताललाई संघ सरकार मातहत राख्ने निर्णय नगरेसम्म संसद चल्न नदिने बताए ।

कांग्रेस नेताहरुका अनुसार मंगलबारको बैठक सुरु हुनुअघि सरकारले सम्वाद गर्ने अपेक्षा थियो ।

यदि सरकारले अस्पतालबारे माग पुरा गर्छौं भन्यो भने चिकित्सा शिक्षा विधेयकलाई लिएर के गर्ने भन्ने छलफल भएको थियो । त्यसबेला सदनमा नै निर्णय गर्ने सल्लाह भयो ।

तर, संसद भवन नपुग्दै सभामुख कृष्णबहादुर महराले सम्वाद गरेनन्, चिकित्सा शिक्षा विधेयकलाई मात्र एजेण्डामा राखेको र बैठक चल्ने सूचना कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडलाई पठाएका थिए । शिक्षामन्त्री गिरिरामणि पोखरेल अरु भन्दा भिन्न ठाउँ, जहाँबाट रोष्टममा जान सहज हुन्छ, त्यहाँ बसेका थिए । त्यसैले कांग्रेस सांसदहरुले मन्त्रीलाई रोक्ने उद्देश्यले सिंह बोले लगतै रोष्टम घेराउ गर्न गए ।

सभामुखले देखाए नेकपा रुझान

लगत्तै सांसदहरुले रोष्टम घेर्न खोजे । तर, मर्यादापालकहरुले विपक्षी सांसदहरुलाई वेलको बीचमा नै रोक्न खोजे । समान्यतया मर्दायापालकको जिम्मेवारी सभामुखको सुरक्षा गर्नु हो । तर, चिकित्सा शिक्षा विधेयक संसदमा जसरी पनि प्रस्तुत गर्ने सरकारको योजनालाई सघाउने गरी मर्दायापालकले वेलको बीचमा नै रोक्न खोजेपछि विपक्षी सांसदहरु आक्रोशित भए ।

उनीहरुले ठेलमठेल गर्दै मर्यादापालकहरुलाई पछाडि धकेले र मन्त्री रोष्टममा जाने बाटो रोके । लगतै सांसदहरु मिनेन्द्र रिजाल, गगन थापा लगायतले सभामुखतिर चोर औला उठाएर ‘यसरी चल्छ सदन ?’ भन्दै प्रश्न गरे ।

मन्त्रीलाई नेकपा सांसदको स्कटिङ

संसद १५ मिनेटलाई स्थगित भयो । दोस्रो बैठक सुरु गर्न सभामुख महरा कुर्सीमा मात्र के बसेका थिए, विपक्षी कांग्रेसका सांसदहरु दौडिएर रोष्टम घेराउ गर्न पुगे । सभामुखले बैठक नै सुरु गरेको छैन भन्दै रोक्न खोजे पनि सांसदहरुले सुनेनन् ।

त्यसक्रममा अनौठो दृश्य देखियो, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई नेकपा सांसदहरुको स्कटिङ । नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु खगराज अधिकारी, शान्ता चौधरीलगायतले स्कटिङ गर्दै मन्त्री पोखरेललाई रोष्टममा पठाउन खोजे । सत्तारुढ र विपक्षी सांसदहरुबीच ठेलमठेल भयो । मर्यादापालकले पनि मन्त्रीलाई रोष्टममा लैजान खोजे तर, विपक्षीले घेरे पनि सफल भएनन् ।

‘संसदमा कुर्सी तोडफोड र बि्रफकेस फोड्नेसम्मका घटना भएका छन् तर, सत्तापक्षले यसरी रोष्टममा झगडा गर्न गएको थाहा छैन’ सांसद मिनेन्द्र रिजाल भन्छन्, ‘सत्तापक्षले धैर्यता गुमायो भने दुर्घटना हुन्छ । सभामुखले पनि धैर्यता गुमायो भने दुर्घटना हुन्छ । आज सभामुख सभामुख रहन सक्नुभएन ।’

प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०४:११
प्रतिक्रिया दिनुहोस