यही जेठ १५ गते मनाईने गणतन्त्र दिवसको अवसर पारेर पर्वतको मोदी गाउँपालिका ६ तिलाहारको डिमुवामा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हज र मोदी गाउँपालिका को संयुक्त आयोजना तथा नेपाली सेना र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा शिविर संचालन गर्न लागिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो ।
जेठ १४ र १५ गरी दुई दिनसम्म चल्ने शिविरमा नेपाली सेनाले चिकित्सक उपलब्ध गराएर सहयोग गर्ने भएको छ भने गुड नेवर्सले स्वास्थ्य जाँचमा सहयोग गर्ने भएको छ । पर्वतमा यस अगाडि राख्ने गरिएका शिविरहरुमा शल्यक्रिया गर्ने गरिएको थिएन । तर यो शिविरमा भने आँखाको सल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको विशेषज्ञ डा. शरिबिक्रम अधिकारी नेतृत्वको सल्यक्रिया गर्ने भएको छ ।
शिविरमा मुटुसम्बन्धि रोगको परीक्षणको लागि कार्डियोलोजिस्ट डा. अनिल भट्टराईको नेतृत्वमा ८ जना चिकित्सहरु आउने तयारी भएको छ ।
यस्तै, प्रसुती सम्बन्धि रोगहरुको परीक्षणका लागि थापाथली हस्पिटलका काठमाण्डौका निर्देशक तथा प्राध्यापक, कन्सलटेण्ट डा. जागेश्वर गौतम, पेट तथा कलेजो सम्बन्धि रोगहरुको परीक्षणको लागि बिर हस्पिटल काठमाण्डौका प्राध्यापक डा. बिधाननीधि पौडेल, मानसिक तथा नशा रोगका लागि काठमाण्डौको प्रहरी अस्पताल र नर्भिक अस्पतालका डिआई.जी डा. अजित गुरुङ, मृगौला सम्बन्धि रोगको लागि बिशेषज्ञ डा. सन्तोष गुरुङ, नाक, कान तथा घाँटी रोगका लागि विशेषज्ञ डा. शैलेन्द्र बी पोखरेल, दन्त रोगका लागि विशेषज्ञ डा. सञ्जु पौडेल, हाडजोर्नी तथा नशा रोगको लागि बिशेषज्ञ डा. ईश्वर शर्मा कँडेल नेतृत्वको चिकित्सकहरुको टोलीले जाँच तथा उपचार गर्ने भएको छ । शिविरमा ईको, ईसिजी, भिडियो एक्स रे, सुगर जाँच, रगतको समूहको परीक्षण, रक्तदान लगायतका सेवाहरु पनि उपलब्ध गराइने भएको छ । उक्त स्वास्थ्य शिविरको उद्घाटन यही जेठ १४ गते बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही अवसरमा पर्वतको मोदी गाउँपालिकाबाट डक्टर बन्नुभएकाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
प्रकाशित मिति २०७६ जेठ ११ गते शनिवार ०१:५४