नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल कारोबारको दायरा उल्लेखनीय रुपमा फराकिलो बनाएको छ।
प्रविधि आधारित बैंकिङ सेवालाई प्रोत्साहन गर्न आएको नयाँ व्यवस्थाले इन्टरनेट तथा मोबाइलबाट हुने कारोबारको सीमा ५ गुणासम्म बढाएको हो।
केन्द्रीय बैंकको नयाँ सर्कुलरअनुसार इन्टरनेट बैंकिङमार्फत् बैंक तथा वित्तिय संस्थाको खातामा दैनिक १० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइनेछ। मासिक रुपमा ५० लाखसम्म ट्रान्सफरको सुविधा हुनेछ।
केन्द्रीय बैंककाअनुसार इन्टरनेटबाट प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको भुक्तानी कारोबार (मर्चेन्ट पेमेन्ट) गर्न पाइनेछ। यो सीमा यसअघि १ लाखमात्रै थियो। यस्तो मर्चेन्ट पेमेन्ट मासिक रुपमा ३० लाख रुपैयाँसम्म गर्न पाइने नयाँ सर्कुलरमा उल्लेख छ।
मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा उपभोक्ताले दैनिक ५० हजार रुपैयाँसम्म कारोबार गर्न पाउनेछन्। कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक रुपमा १ लाखसम्मको कारोबार मोबाइल बैंकिङबाट गर्न पाइनेछ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख देवकुमार ढकालका अनुसार मोबाइल बैंकिङ सेवा अन्तर्गत क्युआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा समेत यो सीमा लागू हुनेछ। एटिम कार्डबाट हुने भुक्तानीको सम्बन्धमा केन्द्रीय बैंकले ५ सयदेखि २५ हजार रुपैयाँ झिक्न पाउने सीमा तोकेको छ।
बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको चाहनाअनुसार यो सीमा तलमाथि गर्न समेत छुट दिएको छ। ‘यो व्यवस्थाले बैंक तथा वित्तिय संस्थाका ग्राहकको चाहना बमोजिम नगद झिक्न सक्ने अधिकतम सीमा निर्धारण गर्न बाधा पुर्याएको मानिने छैन’, राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ।
एटिमबाट सामान खरिदको भुक्तानी गर्ने सीमा दैनिक २५ हजारसम्म पुर्याइएको छ। यो सीमा मासिक ५० हजार रुपैयाँसम्म हुने केन्द्रीय बैंकले तोकेको छ।
अबदेखि बैंक तथा वित्तीय संस्थाले जारी गरेका ‘नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी’ (एनएफसी) कार्ड मार्फत कारोबार गर्दा प्रतिपटक २ हजारसम्मको कारोबारका लागि ‘पिनकोड’ आवश्यक पर्ने छैन।
डिजिटल वालेटलाई फाइदा
केन्द्रीय बैंकको नयाँ नियमले इसेवा, खल्तीजस्ता डिजिटल वालेटहरुलाई फाइदा पुग्नेछ। नयाँ सर्कुलरमा यस्ता डिजटल वालेटबीच एक आपसमा रकम ट्रान्सफर गर्ने सुविधाको सुनिश्चितता गरिएको छ।
‘बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा, वालेटबाट बैंक खातामा एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार रुपैयाँसम्म रकम ट्रान्सफर गर्न पाइनेछ’, राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘यस्तो रकम मासिक रुपमा ५० हजारभन्दा बढी ट्रान्सफर गर्न पाइने छैन।’
केन्द्रीय बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङतर्फ कारोबार बढिरहेको भन्दै नयाँ नियम ल्याएको जनाएको छ।
‘डिजिटल मनीको प्रयोग बढ्दै गएकाले हामीले यसको दायरा फराकिलो बनाएका हौं’, नेपाल राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख देवकुमार ढकालले नेपालखबरसँग भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले व्यवस्थापनमा उपलब्ध हुने यी सुविधाबाहरुबाट सर्वसाधारण लाभान्विते हुनेछन् भन्ने हाम्रो विश्वास छ।
प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार १२:३७