तीज कार्यक्रम नगरी बाढीपहिरो पीडितलाई सांस्कृतिक महासंघ पर्वतको ३५ हजार सहयोग

तीज कार्यक्रम नगरी बाढीपहिरो पीडितलाई सांस्कृतिक महासंघ पर्वतको ३५ हजार सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ भदौ १९ गते शुक्रबार ०३:१८

नेपाल सांस्कृतिक महासंघ जिल्ला कार्यसमिति पर्वतले यस वर्षको तीज कार्यक्रम स्थगित गरी बाढीपहिरो पीडितको सहयोगका लागि ३५ हजार रुपैयाँ प्रदान गरेको छ। महासंघले तीजको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको भए पनि...

नेपाल सांस्कृतिक महासंघ जिल्ला कार्यसमिति पर्वतले यस वर्षको तीज कार्यक्रम स्थगित गरी बाढीपहिरो पीडितको सहयोगका लागि ३५ हजार रुपैयाँ प्रदान गरेको छ।
महासंघले तीजको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको भए पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो लगायतका प्राकृतिक विपद्का घटना बढेपछि कार्यक्रम नगर्ने निर्णय गरेको हो। कार्यक्रमका लागि छुट्याइएको रकमलाई विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।
नेपाल सांस्कृतिक महासंघ जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष शिव पुरीले तीज कार्यक्रम गरेर खर्च गर्नुभन्दा विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो।
अध्यक्ष पुरीले भन्नुभयो, “तीज कार्यक्रम गर्ने तयारी थियो। तर बाढीपहिरो आएपछि उत्सव मनाउनुभन्दा विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु उचित ठानेर कार्यक्रम नगरी सहयोग गर्ने निर्णय गरेका हौँ।”
महासंघले प्रदान गरेको सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ। प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई स्थानीय तह, सामाजिक संघसंस्था तथा नागरिक समाजले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा पनि अध्यक्ष पुरीले जोड दिनुभयो।
महासंघले सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन र सामाजिक एकताको सन्देश दिनुका साथै आवश्यक पर्दा सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार ०३:१८
प्रतिक्रिया दिनुहोस