पर्वत जलजला नेपाली समुदाय अष्ट्रेलियाको आयोजना र जलजला गाउँपालिकाको सहकार्यमा सम्पन्न गाउँपालिकास्तरीय अन्तर-माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। श्री बनौ माध्यमिक विद्यालय, जलजला-९, पर्वतको प्रांगणमा भएको उक्त प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियाे ।
प्रतियोगितामा 13 अाेटा बिध्यालयकाे कडा प्रतिस्पर्धाका बीच कृष्ण भगवान माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयको अङ्क बराबर भएको थियो। तत्पश्चात गरिएको गोलाप्रथाद्वारा जनकल्याण माध्यमिक विद्यालय ३५ अङ्क प्राप्त गर्दै प्रथम हुन सफल भएको छ भने ३५ अङ्क नै प्राप्त गरेको कृष्ण भवन मावि द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो। त्यसैगरी, २५ अङ्कका साथ विद्याजाेति माध्यमिक विद्यालय तृतीय र ग्राम प्रकाश माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले विद्यार्थीहरूको प्रतिभा पहिचान र शैक्षिक विकासका लागि यस प्रकारका प्रतियोगिताहरू अति महत्वपूर्ण हुने बताउदै गाउँपालिकाले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सर्वाधिक लगानी गरिरहेको बताएका छन्। अध्यक्ष आचार्यले भने, “हामीले शिक्षा क्षेत्रमा नै सबैभन्दा बढी खर्च गरेका छौँ र आगामी दिनमा पनि यसलाई अझै प्राथमिकतामा राख्नेछौँ।” साथै, उनले आगामी वर्षदेखि यस्ता रचनात्मक प्रतियोगिताहरूलाई अझै राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
विद्यार्थीहरूको प्रतिभा पहिचान र शैक्षिक उन्नयनका लागि आयोजित उक्त प्रतियोगितामा विजयी विद्यालयहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरूलाई क्रमशः रु. ३५,०००, रु. २५,०००, रु. १५,००० र रु. १०,००० सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा कार्यक्रम काअध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकिय अधिकृत सन्दिप काफ्ले, वडा नं. ९ का अध्यक्ष गौबहादुर पुन, शिक्षा अधिकृत टंकनाथ पौडेल, नेपाली कम्युनिति अष्ट्रेलियाका प्रतिनिधि नविन् जिसी लगायतले बोल्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगिताको सहजीकरण जननेत्र मावि देउपुरका शिक्षक भुमिराज शर्माले गर्नुभएको थियो । विद्यार्थीहरूको बौद्धिक तथा आन्तरिक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रवासीहरूले रकम संकलन गरेर पठाएका हुन् ।कार्यक्रम काे संचालन जलजला गाउपालिकाका शिक्षा शाखा अधिकृज्यूले गर्नु भएकाे थियाे
प्रकाशित मिति २०८३ मङ्सिर २ गते मङ्गलबार १२:०९