नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको पर्वत जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा यामबहादुर मल्ल (रामकृष्ण) निर्विरोध निर्वाचित हुनुभएको छ ।
कुश्मामा सम्पन्न १५ औं जिल्ला तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनवाट जिल्ला सभापतिमा मल्ल निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी उपसभापतिमा कृष्ण गौडेल र लक्ष्मीकुमारी मेघासी प्रसाइ, सचिबमा पानबहादुर हाल सन्तोष सहसचिबमा भिमबहादुर अधिकारी रहनुभएको छ ।
त्यसैगरी, कोषाध्यक्ष र सदस्यसहित २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । यसैगरी महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिको केही दिनमा टुङ्गो लाग्ने सभापति मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार आकांक्षीहरुको संख्या धेरै भएकाले सहमतिमै टुङ्गो लगाउने तयारी भइरहेको छ । यसैगरी क्षेत्र (क) को सभापतिमा याम शर्मा पौडेल तथा क्षेत्र (ख) को सभापतिमा गुप्तप्रताप सेन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
सभापतिमा निर्वाचित मल्लले नेपाली काँग्रेसलाई विधानसम्मत अघि बढाउनका लागि नियमित महाधिवेशन आवश्यक रहेको बताउँदै सोहीअनुसार जिल्लामा अधिवेशन गरी सर्वसम्मत नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले ६१ वटै वडा र सातवटै पालिकामा सर्वसम्मत अधिवेशन सकिएको बताउँदै जिल्ला, क्षेत्रमा अपूर्ण सदस्यहरु तत्काल मनोनित गरिनुका साथै महाधिवेशन प्रतिनिधिको टुङ्गो छिट्टै लगाइने मल्लले बताउनु भएकाे छ
प्रकाशित मिति २०८३ कार्तिक १९ गते बुधबार ०८:४८