गीता पौडेल
काठमाडौं । यो साता दुई अर्ब १९ लाख ९९ हजार रुपियाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भए अनुसार २९ हजार ३१९ कारोबारबाट दुई अर्ब १९ लाख ९९ हजार रुपियाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका हुन् ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.१९ अंकले घटेर अन्तिम दिन एक हजार ३४८.४५ अंकमा पुगेको छ । पुँजी बजार सम्बन्धि प्रदर्शनीको आयोजनाले साताको अन्तिम दुई दिन बजारमा लगानीकर्ताको उल्लेख्य उपस्थिति नहुँदा बजार प्रभावित भए तापनि साताभरको कारोबारमा उच्च अङ्कको गिरावट हुन भने पाएन ।
सरकारको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीत लगायतका बजारलाई प्रत्यक्ष प्रभावित पार्ने नीतिहरु आउन बाँकी नै रहेको तथा आगामी जेठ महिनासम्ममा अनलाइन ट्रेडिङ्गको काम पनि सकेर नेप्सेलाई हस्तान्तरण गर्ने जनाइएकोले अझै केही साता बजारमा उत्साह आउने सम्भावना न्यून देखिन्छ । जेठको मध्येतिरबाट भने बजारमा पुन रौनक फर्कन सक्ने विश्वास विज्ञहरुले गरेका छन् ।

कारोबार रकम गत साताको भन्दा २७.७६ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८ हजार ४८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपियाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७९ अंकले घटेर २८४.५९ अंकमा झरेको छ । यस साता कारोबार रकम १२ करोड ७३ लाख ४० हजार रुपियाँको आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीले चिनियाँ कम्पनीहरुको सहकार्यमा ८८२ मेगावटको जलविद्युत आयोजना खरिद गरि निर्माण गर्ने तयारी गरेको फलस्वरुप सो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ३८ हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३९३५ वटा) को आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

नेप्सेमा साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा पनि गिरावट देखिएको थियो । बिहीबार नेप्सेमा ७ दशमलब ७० अङ्कको गिरावट सहित नेप्से परिसूचकाङ्क एक हजार ३४८.४५ को बिन्दूमा ओर्लिएको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १.४८ को कमी सहित परिसूचकाङ्क २८४.५९ को बिन्दूमा झरेको थियो ।
नेप्सेमा देखिएको शिथिलताको प्रमाण कारोबारले पनि देखाएको थियो । बिहीबार नेप्सेमा कुल १६१ कम्पनीको पाँच हजार ५८८ कारोबारबाट सात लाख ७३ हजार २१० कित्ता सेयरको खरिद विक्री भई जम्माजम्मी ३५ करोड ८८ लाख ४४ हजार २६० रुपियाँ बराबरको सेयर खरिद विक्री भएका थिए । नेप्से परिसूचकाङ्कमा आएको गिरावटका कारण बजार पुँजीकरण पनि १५ खर्ब ८२ अर्बको नजिक ओर्लिएको थियो ।
नेप्से विहीबारको कारोबारमा उच्च कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको थियो । सो कम्पनीको राम्रो नौ महिने नतिजा प्राप्त भए पश्चात् लगानीकर्ताको आकर्षण सो कम्पनीमा परेको थियो । एनएलआईसीको मात्र बिहीबार दुई करोड २२ लाखभन्दा बढीको कारोबार भएको थियो ।
नेप्सेमा उच्च करोबार हुने अन्य कम्पनीहरुमा बुटवल पावर कम्पनी लिm स्वावलम्बन विकास बैंक, एनएमबी बैंक, एसआईएल, पीआईसी, ग्लोबल आईएमईको सस्थापक सेयर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, प्रभु इन्स्योरेन्स, चिलिमे जलविद्युत लगायतका कम्पनी परेका थिए । समूहगत रुपमा नेप्सेमा विहीबारको कारोबारमा सबै समूहको सेयर मूल्यमा गिरावट देखिएको थियो ।
प्रकाशित मिति २०७५ बैशाख २८ गते शुक्रबार ०४:३४