भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जना सङ्क्रमित भेटिएकाे एएनआईले जनाएकाे छ।
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९ सय २६ सङ्क्रमित भएका हुन्।
तीमध्ये छ लाख ८६ हजार ३ सय ९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८ सय ६६ पुगेको छ। तीमध्ये ९ सय ७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
भारतमा कुल सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६५ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन्।
प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ। त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन्।
प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०७:३८