मंगलबार राति अत्यधिक उल्का वर्ष हुने भएको छ। राति पौने ११ बजे देखि बुधबार बिहान पौने ५ बजे सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।
हेलिको पुच्छ्रेताराका कारण हुने यो मृगशिरा उल्कावर्षा भएको उनले बताए। भट्टराईका अनुसार यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण प्रत्येक वर्ष मे महिनामा एक्वारिएट र अक्टोबरमा ओरियनिड उल्कावर्षा हुने गर्छ।
आजको उल्का वर्षाको स्रोत ओरायन (मृगशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृगशिरा उल्कावर्षा नाम दिइएको छ। अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ।
‘उल्का वर्षा हेर्न मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ,’ भट्टराईले भने।
ती उल्का वर्षाहरुको गति प्रतिसेकेन्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ।
के हो उल्का वर्षा?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ। जब पृथ्वी सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।
बेलायती खगोलशास्त्री एडमन्ड हेलीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलिको पच्ुछ्रेतारा भनिएको हो। यो एक नियमित पुच्छ्रेतारा हो जसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ। सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब २०६१ मा देखिने अनुमान गरिएको छ।
कसरी हेर्ने उल्कावर्षा?
उल्कावर्षा हेर्न कुनै दूरबिन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नांगोे आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ।
प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ११:३३