१६औं सत्याग्रहको पाँचौं दिनः डा.केसीको दायाँ फोक्सोमा अवरोध

१६औं सत्याग्रहको पाँचौं दिनः डा.केसीको दायाँ फोक्सोमा अवरोध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २९ गते आईतबार ०७:५५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा १६औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। डा. केसी अनशनमा बसेको आइतबार पाँचौं दिन हो। उनको उपचारमा संलग्न चिकित्सक डा. रामकृष्ण आचार्यका...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै इलाममा १६औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ।

डा. केसी अनशनमा बसेको आइतबार पाँचौं दिन हो।

उनको उपचारमा संलग्न चिकित्सक डा. रामकृष्ण आचार्यका अनुसार डा.केसीको दाहिने फोक्सो राम्रोसँग खुल्न छाडेको छ। छातीमा संक्रमण भएको छ भने पिसाब कम आउन थालेको छ।

उनले भनेका छन्, ‘डा. केसीलाई जुनसुकै बेला अस्पताल लानुपर्ने अवस्था देखिएको छ।’

डा. आचार्यका अनुसार उनको शरीरमा पानी कम भएको छ भने रगतमा ‘इलेक्ट्रोलाइट्स’को मात्रा पनि घटेको छ। रगत र पिसाब परीक्षणका लागि अस्पतालमा नमुना लगिएको छ।

त्यसको रिपोर्ट आएपछि उनको स्वास्थ्यबारे थप जानकारी आउने चिकित्सकले बताएका छन्।

यसैबीच डा. गोविन्द केसीको समर्थनमा आज दिउँसो इलाममा वृद्धहरूले र्याली निकाल्ने उनका समर्थकहरूले बताएका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेको थियाे। जसमा ऐन लागू भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामूलक हुने व्यवस्था समेटिएको छ। यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने फरक मत राखेको थियो।

सरकारले आफूसँग गरेको सहमतिविपरीत जनमुखि बुँदा हटाई माफियामुखि बनाएर विधेयक पारित गरेकाे भन्दै डा. केसी इलाममा गत बुधबारदेखि १६औं सत्याग्रहमा बसेका छन्।

तर डा. केसीको विरोधका बीच उक्त विधेयक आज संसदमा पेश हुँदैछ।

नेपाल चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्न माग गरेको छ।

प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार ०७:५५
प्रतिक्रिया दिनुहोस