बागलुङको बरेङ गाउँपालिकाले कोरोना संक्रमित गर्भवती र सुत्केरी महिलाका लागि पोषण प्याकेज कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित महिलामा पोषणको कमी हुँदा आमा र बच्चामा कुपोषणको समस्या हुनसक्ने भन्दै गाउँपालिकाले पोषण प्याकेज कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले हरेक संक्रमित गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खानाका लागि पाँच हजार रुपैयाँ नगद उपलव्ध गराउने निर्णय गरेको छ । गर्भवती र सुत्केरी अवस्थामा कोरोना संक्रमण भएका महिलाले यो सुविधा पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
‘कोरोना संक्रमणका कारण थलिएका गर्भवती र सुत्केरीमा पोषणको मात्र पुरा गर्न नसके त्यसको क्षति गाउँपालिकाले लामो समय ब्यहोर्नु पर्छ’ थापा भन्छन् ‘गरिबी वा अन्य कुनै समस्याका कारण संक्रमणका बेला पोषणको समस्या नहोस् भनेर हामीले यो कार्यक्रम ल्याएका हौं ।’
वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले तयार गरेको तथ्यांक र सिफारिसका आधारमा गर्भवती र सुत्केरी महिलाले एक महिनालाई पोषणयुक्त खाना खाने पैसा गाउँपालिकाबाट पाउँछन् । गाउँपालिकाले ‘एक बार खाना चार’को प्रोटोकल लागु गर्न अनिवार्य गरेर प्याकेज दिने भनेको छ । माछा, मासु, दुध, हरियो सागपात, प्रोटिन युक्त खाना र स्थानीय खानाका परिकारलाई प्रोत्साहन गर्न सबै स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिईएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
‘कोरोना संक्रमणपछि धेरै कमजोर भएको पाईएको छ, त्यो कमजोरीका कारण आमा र बच्चामा पोषणको कमी हुनुहुँदैन’ शर्माले भने ‘हाम्रो कार्यक्रमको प्रभाव तत्काल होईन दिर्घकालका लागि देखिने हो ।’ गाउँपालिकामा अहिले तीन गर्भवती र एक जना सुत्केरी महिला संक्रमित छन् । उनीहरुलाई तत्काल प्याकेज उपलव्ध गराउन वडा अध्यक्ष र स्वास्थ्य संस्थालाई आग्रह गरिएको स्वास्थ्य शाखाका प्रमुख पदम पुनले जानकारी दिए । गाउँपालिकामा ४ सय ५० जना बढी धेरै गर्भवती र सुत्केरी रहेको आँकडा छ ।
गाउँपालिकाभरि ६९ जना सक्रिय संक्रमित छन् । कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा धेरै संक्रामक रहेकाले अरु गर्भवती तथा सुत्केरी महिलासमेत प्रभावित हुने गाउँपालिकाको आँकलन छ । ‘हामीसँग निर्धारित स्रोत थिएन, आन्तरिक स्रोतको परिचालन गरेर पोषण प्याकेज आएको हो’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने ।
प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार १०:३१