हिँसा पिडित महिला भए अस्पतालको संकट व्यवस्थापन केन्द्रमा जान अनुरोध

हिँसा पिडित महिला भए अस्पतालको संकट व्यवस्थापन केन्द्रमा जान अनुरोध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ बैशाख १८ गते मङ्गलबार ०५:२६

कोही पनि महिला घरेलु हिँसा, कुटपिट, मानसिक यातना, यौन हिँसा लगायतका विभिन्न हिँसाबाट पिडित भएको भए एकद्धार संकट व्यवस्थापन केन्द्रमा ल्याउन वा आउन पर्वत अस्पतालले अनुरोध गरेको छ । अस्पतालमा रहेको केन्द्रबाट निःशुल्क रुपमा नै...

कोही पनि महिला घरेलु हिँसा, कुटपिट, मानसिक यातना, यौन हिँसा लगायतका विभिन्न हिँसाबाट पिडित भएको भए एकद्धार संकट व्यवस्थापन केन्द्रमा ल्याउन वा आउन पर्वत अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालमा रहेको केन्द्रबाट निःशुल्क रुपमा नै स्वास्थ्य सेवा सहित परामर्श सेवा उपलब्ध रहेकोले समस्यामा पर्नुभएका कोही पनि महिला अस्पतालमा आउने सक्ने अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताए । हिँसामा परेका कोही महिला वा किशोरी भएमा आफै अस्पतालमा आउन वा आउन नसक्ने भएमा छिमेकी वा आफन्तले सघाइदिन पनि अस्पतालले अनुरोध गरेको छ ।

कसैको सानो प्रयास वा सहयोगले लैङ्गिक हिंसाबाट पीडित र प्रभावित महिलाहरुले आवश्यक सेवा र सहयोग प्राप्त गरी जीवनमा अगाडि बढने अवसर पाउने उपाध्यायको भनाइ छ । लैङ्गिक हिँसा भनेको लिङ्गका आधारमा नीजि वा सार्वजनिक ठाउँमा हुने अवाञ्छित गतिबिधि वा शारीरिक, मानसिक र यौनिक हानी पु¥याउनु भन्दै उनले आर्थिक स्रोत र साधनबाट बञ्चित गर्नु र व्यक्ति स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारबाट बञ्चित गरिनु पनि हिंसा हुने बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा ५१ जना, २०७९/०८० मा ४७ जना र चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३८ जनाले एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा लिइसकेका फोकल पर्सन सरस्वती बरालले बताइन् । केन्द्रबाट लैङ्गिक हिंसा पीडितहरुलाई निःशुल्क औषधोपचार, तालिम प्राप्त मनोसामाजिक परामर्शद्धारा उचित सल्लाह र सुझाव, आवश्यक कानुनी सल्लाह र सेवा, हिंसा पीडित महिलाहरुलाई सुरक्षित रुपमा आवास तथा खानपान सहितको अल्पकालिन आश्रय उपलब्ध हुने उनको भनाई छ ।

यस्तै हिंसा पीडितहरुलाई निजको परिवारमा पुनःस्थापना गर्नको लागि आवश्यक पहल र प्रयास, परिवारमा पुनःस्थापना सम्भव नभएका महिलाहरुलाई आत्मनिर्भर भइ समाजका पुनःस्थापित गराउनको लागि आवश्यक पहल र प्रयास, परिवारमा पुनःस्थापना सम्भव नभएका महिलाहरुलाई आत्मनिर्भर भइ समाजमा पुनःस्थापित गराउनको लागि आवश्यक पहल गर्ने तथा सेवा उपलब्ध गराउने प्रक्रियामा हिंसा पीडित प्रभावितहरुको सुरक्षा र गोपनियता कायम रहने पनि पर्वत अस्पतालले बताएको छ ।

प्रकाशित मिति २०८१ बैशाख १८ गते मङ्गलबार ०५:२६
प्रतिक्रिया दिनुहोस