उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतमा पर्ने मालढुङ्गा(बेनी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक चार वर्षपछि कालोपत्र गर्न शुरु भएको हो । १३ किलोमिटर लामो मालढुंगा(बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गरिने भएको छ । मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा(बेनी(जोमसोम(कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ ।
जलजला गाउँपालिका वडा नं। ८ फर्सेवाट मालढुंगातर्फ पिच गर्दै जाने तयारी भएको आयोजनाका साईड इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिनुभयो । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि झण्डै सात किलोमिटर बाँकी रहने छ । भौगोलिक रुपमा कमजोर रहेको दुई किलोमिटर सडक भने पहिलेनै ढलान गरिसकिएको इन्जिनियर पन्तले जानकारी दिनुभयो ।कालोपत्र गर्नका लागि मालढुंगा(बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन संचालन गर्न रोक लगाएर धमाधम कालोपत्र गर्न लागिएको निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकुल भएमा १३ दिनमा कालोपत्र गर्ने काम सकिन्छ ।
कालोपत्र गर्ने अवधिमा अत्यावश्यक सवारीका साधन भने संचालन गर्न दिने सहमति भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको बैठकमा सडक कालोपत्रे गर्ने अवधिमा एम्वुलेन्स, स्कुलबस, दुध तथा तरकारीका गाडीहरुलाई भने निर्वाध चल्न दिईने निणर्य भएको हो । उक्त अवधिमा बागलुङतर्फको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ
प्रकाशित मिति २०८१ असार ९ गते शनिवार ०३:४२