जिल्लाको मोदी गाउँपालिको आगामी बर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले गाउँ सभाको १५ औं अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसहमत पारित गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले विदेशबाट फर्केका युवालाई ब्यवसायीक योजनामा प्रोत्साहन गर्ने नीति गाउँपालिकाले अंगिकार गर्ने उल्लेख गरेकी छिन् । अध्यक्ष शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सीप सिकेर विदेशबाट फर्केपछि बेरोजगार भएका युवालाई रोजगारीको ब्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने कुरा उल्लेख गरेकी हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ – वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका तथा बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गर्नका लागि सामूहिक तथा ब्यवसायीक योजनाहरुलाई प्रोत्साहन गरिनेछ । साथै विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी श्रमिक तथा वैदेशिक रोजगारीमा गएका परिवारलाई बित्तिय तथा डिजिटल साक्षरता सम्बन्धि अभिायन सञ्चालन गरिनेछ ।
कृषि क्षेत्रको सहयोगका लागि कोल्ड रुमको ब्यवस्थापन, पर्यटन प्रवद्र्धन र विकास, शैक्षिक सुधार र विस्तार, स्वास्थ्य सेवाको पहुँचमा विस्तार तथा उद्यमशिलता कार्यक्रमको परिमार्जन सम्बन्धि नीति गाउँपालिकाले अंगिकार गर्ने भएको छ ।
सार्वजनिक र चालु खर्चलाई मितब्ययीता बनाउँदै गाउँबासीहरुसंगको सहयोग र सहकार्यमा सम्बृद्ध मोदी सुखी मोदीबासीको नारालाई सफल बनाउने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रकाशित मिति २०८१ असार १३ गते बुधबार ०९:१९