त्यसैगरि समीक्षामा बोल्ने वडा सभापतिहरुले १०० दिने अभियानको कार्यविधिले स्थानीय तहको निर्वाचनमा जिल्ला नेतृत्वले टिकट वितरणमा ध्यान नदिएको कारण पार्टीमा समस्या आएको दावी गरेका थिए । उनीहरुले भूगोलमा खट्ने र जनमत भएकालाई भन्दा चाकडी गर्नेहरुले पार्टीबाट अवसर लिएको, गठबन्धनका कारण पार्टीमा विचलन आएको, कार्यकर्तामा अनुशासनहीनता बढ्दै गएको र चुनावमा अन्तरघात गर्नेलाई कार्वाही र काम गर्नेलाई सम्मान नहुँदा संगठनमा निष्कृयता बढेको लगायतका कुराहरु उल्लेख गरेका थिए ।
अभियानको कार्यविधिले पार्टीमा रिक्त पदाधिकारी तथा सदस्यलाई परिपूर्ति गर्नेदेखि सांगठनिक कार्ययोजना निर्माण, नियमित वैठक संचालन गर्ने वातावरण, जनप्रतिनिधि र पार्टीको बीचको आपसी मेलमिलापका लागि स्थानीय समन्वय समितिको गठन, भातृ तथा सुभेच्छुक संगठनहरुको गतिशीलताको लागि पहल गर्नुका साथै पार्टीको लेखाप्रणालीलाई व्यवस्थित र जवाफदेही वनाउन वैंक मार्फत आर्थिक कारोवार गर्न निर्देशन दिएको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो । ‘अभियानपूर्व सिथिल र निष्कृय रहेको पार्टी संगठन अभियानपछि जागरुक भएको पाइएको छ, संगठनलाई अझै जनताको घरदैलोमै पुग्नेगरि बाँकी कार्यक्रम अघि बढाउने उद्देश्यले यो मध्यकालिन समीक्षा आयोजना गरिएको हो ।’–सचिव शर्माले भन्नुभयो ।
आइतवार वीपी स्मृति भवन कुश्मामा संचालन गरिएको समीक्षामा जिल्लाका ५० जना भन्दा बढि प्रतिनिधि र वडा सभापतिहरुले आ–आफ्ना लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको उक्त समीक्षा कार्यक्रमले विगतको पार्टी अभियानको कमजोरीलाई केलाउँदे आगामी कार्यक्रमलाई दिशावोध गरेको पार्टी उपसभापति डाक्टर चूडामणि शर्माले जानकारी दिनुभयो । ‘पार्टीमा गुनासा पनि छन्, सुझाव पनि आएका छन्, ती सबै सुझावलाई आत्सात गरेर आगामी दिनमा पार्टी कसरी संचालन गर्ने भन्नेमा समीक्षा बैठकले दिशानिर्देश गरेको छ ।’–उपसभापति शर्माले भन्नुभयो ।
अभियानका लागि खटाइएका प्रतिनिधि र अनुगमन गरेका प्रदेश सभा ‘क’ सभापति राजकुमार क्षेत्रीले कार्यक्रममा प्रतिवेदन पेस गर्नुभयो । यस्तै जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मा घायल र गणेश बहादुर क्षेत्रीले समष्टिगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश सभा (ख) को समीक्षा कार्यक्रम भोली मंगलवार फलेवास नगरपालिका–५, खानीगाउँमा आयोजना गरिएको छ ।














