सञ्चारबारे मनाङका सीडीओ भन्छन् : उद्धार जानेसँग नै सम्पर्क टुट्छ गण्डकी सरकारले दियो सुरक्षा निकायलाई उद्धार सामग्री

सञ्चारबारे मनाङका सीडीओ भन्छन् : उद्धार जानेसँग नै सम्पर्क टुट्छ गण्डकी सरकारले दियो सुरक्षा निकायलाई उद्धार सामग्री

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ बैशाख २२ गते सोमबार ०४:५१

मनाङको नार्पाभूमि गाउँपालिका-२ ताङ्चे खर्कको हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको मृत्यु भएको छ । तर, उनको उद्धारमा गएको सुरक्षा टोली अझै सो स्थानमा पुग्न सकेको खबर जिल्ला प्रशासन कार्यालयमा आइपुगेको...

मनाङको नार्पाभूमि गाउँपालिका-२ ताङ्चे खर्कको हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको मृत्यु भएको छ । तर, उनको उद्धारमा गएको सुरक्षा टोली अझै सो स्थानमा पुग्न सकेको खबर जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छैन । त्यहाँ पुगेर उद्धार गर्नसमेत समस्या रहेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताए ।

१५ गते धादिङ गंगाजमुना गाउँपालिका-१ बाट यार्सा टिप्न गएका आकाश १६ गते नै भीरबाट खसेको खबर प्रहरीले १९ गतेमात्र प्राप्त गयो । खबर प्राप्त गरिसकेपछि पठाएको १० जनाको सुरक्षा टोली सो स्थानमा पुग्न सकेन र तत्काल आपत्कालीन सुरक्षा समितिको बैठक बसेर तिनै तहको सुरक्षा निकाय पठाइएको भए पनि सञ्चार सम्पर्क नहुँदा घटनाबारे नै अनविज्ञता पैदा भएको छ ।

सम्पर्क गर्ने सञ्चारको माध्यम नहुँदा र पर्याप्त उद्धारको सामाग्री नहुँदा हिमाली जिल्ला मनाङमा समयमै उद्धार गर्न नसकिएको सीडीओ आचार्यले बताए । अन्तपूर्ण पदमार्गअन्तर्गत तिलिचो, थोरङ पास, लगायत हिमाली भेगमा पदमार्गमा जानेको संस्था ठूलो छ । मनासलु क्षेत्र जाने–आउनेको संख्या पनि मनाङमा ठूलो हुन्छ ।

याक लेक, नाम्ग्य लेक, किन्चो लेक, पिसाङ लेक, नाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा संकलन गर्न पुगेका व्यक्तिहरुको कुनै घटना घटे पनि उद्धार र सुरक्षामै चुनौति थपिएको सीडीओ आचार्यको भनाइ छ ।

त्योसँगै वैशाखदेखि मनाङका हिमाली जिल्लामा अहिले यार्सागुम्बा संकलनका लागि पनि खुला गरिएको छ । उपल्लो मनाङ, थोरङ फेदी, नार, फूलगायत धेरै ठाउँमा सञ्चारका माध्यमले काम नगर्दा उद्धारमै समस्या हुने गरेको उनको भनाइ थियो ।

सञ्चार सम्पर्क नै नहुँदा कुनै घटना घट्दा उद्धारमा गएका सुरक्षा टोली नै कहाँ छ भन्ने जानकारी नहुने दुखेसो सीडीओ आचार्यको छ । ‘हिमाली भेगतिर टावर नै छैन । हाम्रा सुरक्षाकर्मी जान्छन्, उनीहरुसँगै नै सम्पर्क हुँदैन । तिलिचो जाँदा पनि धेरैजसो क्षेत्रमा टावर टिप्दैन । थोरङ पास गर्न ३ दिन लाग्छ, त्यहाँ पनि धेरैजसो हाम्रो सम्पर्क हुँदैन । नेटको पनि व्यवस्था हुँदैन । पुलिसै कता हरायो कि दुर्घटनामा पर्‍यो कि खान पायो कि पाएन कि सुत्या छ कि छैन कि, पत्तो हुँदैन ।’

भीरबाट लडेर मरेपछि सुरक्षा टोली पठाएको तर उनीहरु नै सम्पर्कबाहिर हुँदा धेरै तनाव सिर्जना हुने उनले दुखेसो पोखे । ‘यार्सा टिप्न गएका व्यक्ति भीरबाट खसेपछि अस्ति १० जनाको टोली गयो, नसकेर फर्किएर आयो । फेरि तीन वटै निकाय पठायौं, फोटोसम्म खिच्न सक्छ कि सक्दैन भन्ने छ’, सीडीओ आचार्यले भने, ‘बस्ने ठाउँ छैन, नजिक बस्ती छैन । २१ जनाको टोलीमध्ये २ जना डाँडामा पुगेर सम्पर्क गरेका थिए तर पूरा कुरा हुन पाएन ।’

नेपाल प्रहरी, नेपाली सेनाको टोली त्यहाँनजिकै पुगेको तर लास लिकालेर ल्याउन सक्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘हामीले पठाएको सुरक्षा टोली कहाँ छ, हामीलाई नै थाहा छैन । केन्द्रबाट, काठमाडौंबाट बारम्बार फोन आइरहेको छ’, आचार्यले भने, ‘सुरक्षा टोली नपठायो उद्धारकै समस्या छ, पठायो सुरक्षा टोली नै कहाँ छ थाहा हुन्न । उनीहरुलाई नै सम्पर्क गर्न सकिँदैन । धेरै ठाउँमा यस्तै समस्या छ ।’

प्रकाशित मिति २०८२ बैशाख २२ गते सोमबार ०४:५१
प्रतिक्रिया दिनुहोस