काठमाडौं । दाङको तुलसीपुरमा अवस्थित ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ (श्री मावि तुलसीपुर सेन्टर) देशभरका हजारौं विद्यालयलाई उछिन्दै प्रथम भएर सरकारबाट पुरस्कृत भयो । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को...
काठमाडौं । दाङको तुलसीपुरमा अवस्थित ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ (श्री मावि तुलसीपुर सेन्टर) देशभरका हजारौं विद्यालयलाई उछिन्दै प्रथम भएर सरकारबाट पुरस्कृत भयो । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजाका आधारमा उत्कृष्ट घोषित विद्यालयलाई २०८१ असोज २ गतेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगद ३ लाख, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरे ।
मावि तुलसीपुर सेन्टरको यो सफलता शैक्षिक गुणस्तर, प्रविधिको उपयोग, अभिभावक सहभागिता, भौतिक पूर्वाधार र कुशल नेतृत्वको संयोजन मार्फत सम्भव भएको हो । सामुदायिक विद्यालयहरूमा उदाहरणीय बन्न सफल यो विद्यालयको सफलताको पछाडि दशकौंदेखिको संघर्षको कथा छ ।
‘आदर्श बालबालिका’बाट शुरू भएको यात्रा
दाङको तुलसीपुरमा सबैभन्दा पुरानो सरकारी स्कूलको रूपमा महेन्द्र मावि थियो । यो स्कूल २०१४ सालमा स्थापना भएको थियो । तर तत्कालीन अञ्चलाधीश कार्यालयका कर्मचारीका छोराछोरीलाई पढाउने उद्देश्यले २०२७ सालमा तुलसीपुरमै ‘आदर्श बालबालिका’ नामको विद्यालय खोलियो । अरनिको मैदानको समीक्षालयबाट विद्यालय शुरू भयो ।
विद्यालयको नेतृत्व तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल आफैंले सम्हाले । त्यसपछि चन्द्रमान थकाली लगायतले नेतृत्व गरे । अरनिको मैदानको समीक्षालयबाट २०३१ सालमा जुम्रीगाउँ (हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६) मा सारियो । विद्यालयको नाम ‘तुलसीपुर सेन्टर’ राखियो ।
हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेल र प्रधानाध्यापक (प्रअ) भागवत पौडेलको काँधमा विद्यालय सञ्चालनको मुख्य जिम्मेवारी छ । यो अवधिमा विद्यालयको सान र सौकत चुलिंदै तुलसीपुरभरिको मात्रै होइन, देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।
शैक्षिक र प्राविधिक कार्यक्रम
विद्यालयमा हाल कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान तथा इलेक्ट्रिकल र सूचनाप्रविधि लगायत संकायहरूमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । साथै, स्वीस सरकारको सहयोगमा दुईवर्षे प्रि–डिप्लोमा प्राविधिक शिक्षा पनि प्रदान गर्दै आएको छ ।
‘आईटीमा देशकै उत्कृष्ट नतिजा आउँछ । त्यसको समेत आधारमा शिक्षा मन्त्रालयबाट सम्मानित भयौं’, प्रअ पौडेलले भने ।
विद्यालयले बिहान, दिउँसो र साँझ गरी तीन सत्रमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ, जसले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी गर्ने अवसर पनि प्रदान गरेको छ ।
विद्यार्थीहरूलाई संगीत, मार्शल आर्ट, उसु लगायतको निःशुल्क प्रशिक्षण दिइन्छ । कुलतमा नलागून् भनेर सबै कक्षाका विद्यार्थीलाई काउन्सिलिङ गरिन्छ । त्यसका लागि काउन्सिलरको छुट्टै प्रबन्ध गरिएको छ ।
१०–१० वटा क्लास बाँडेर को–अर्डिनेटर व्यवस्था गरिएको छ । प्रिन्सिपल नहुँदा पनि को–अर्डिनेटरबाट स्वचालित रूपमा विद्यालय चल्छ ।
विद्यालयले अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मोबाइल एप मार्फत विद्यार्थीहरूको उपस्थिति, गृहकार्य, परीक्षा नतिजा लगायत जानकारी उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले अभिभावकहरूलाई विद्यालयको गतिविधिमा प्रत्यक्ष सहभागी गराएको छ ।
हरेक विद्यार्थीलाई डायरीको व्यवस्था गरिएको छ । उनीहरूले शिक्षक तथा कर्मचारीहरूको राम्रो–नराम्रो पक्ष ‘नोट’ गर्छन् । त्यसमा यदि कसैको कम्प्लेन आएमा तत्काल समस्या समाधानको पहल गरिन्छ । शिक्षक कर्मचारीहरू गेटबाट भित्र–बाहिर गएको सबै रेकर्ड राखिन्छ ।
अरू सरकारी विद्यालयको अवस्था दयनीय हुँदा पनि मावि तुलसीपुर सेन्टरले प्रगति हासिल गर्नुमा विद्यालय नेतृत्व र अभिभावकको सकारात्मक भूमिका रहेको प्रधानाध्यापक पौडेल बताउँछन् ।
कुनै बेला सामान्य तारबार समेत नभएको विद्यालयमा अहिले चारैतिर पक्की पर्खालले घेरिएको छ । ६८ वटा कक्षा कोठा भएका भवन छन् । शौचालय नै २५ वटा छन् । १४ कोठे भवन निर्माणाधीन छ ।
‘संघीय मेगा स्कूलको रूपमा छनोटमा परेर २० करोड बजेट पायौं, त्यसबाट २०७७/७८ देखि भौतिक पूर्वाधारहरू निर्माण भइरहेका छन्’, प्रअ पौडेलले भने ।
१७ वटा कक्षाकोठामा एसी जडान गरिएको छ । स्मार्ट डिजिटल बोर्ड, प्रोजेक्टर, कम्प्युटर लगायतका सुविधा छन् । सबै कक्षाकोठामा खानेपानीको लाइन विस्तार गरिएको छ ।
२०७३ सालदेखि नै ८० वटा सीसीटीभी जडान गरेर विद्यालयको नियमित निगरानी गरिन्छ । ती सीसीटीभीमा तीन महिना अघिसम्मको ब्याकअप हुन्छ ।
सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क
विद्यार्थीहरूलाई नेपाली माध्यममा पढ्ने कि अंग्रेजीमा भन्ने अप्सन छ । ५ कक्षासम्म पढाइ पूर्ण रुपमा निःशुल्क छ । ६ कक्षादेखि भने शुल्क लिने गरिन्छ । ‘नेपालीमा पढ्न चाहनेसँग ३०० र अंग्रेजीमा पढ्न चाहनेलाई ८०० रुपैयाँ शुल्क लिइन्छ’, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेल भन्छन् ।
विद्यालयको प्राङ्गण ।
यसैगरी १० कक्षामा नेपालीमा पढ्नेसँग मासिक ५०० र अंग्रेजीमा पढ्नेसँग १२०० शुल्क लिइने उनी बताउँछन् । सरकारको नियम अनुसार सरकारी स्कूलले विद्यार्थी र अभिभावकबाट शुल्क लिन पाउँदैनन् । तर विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेल भने आफूहरूले ‘शुल्क’ नभई ‘सहयोग’ लिएको जिकिर गर्छन् । यो अनिवार्य नभई स्वेच्छिक भएको उनको भनाइ छ ।
‘कसैले सहयोग गर्छौं भन्दा त लिन पाइयो नि’ पौडेल भन्छन्, ‘कसैले म सहयोग गर्न सक्दिनँ भन्यो भने उसलाई हामीले उल्टै विद्यालय पोशाक, अतिरिक्त क्रियाकलाप र पढाइमा सहयोग गर्छौं ।’
विद्यालय परिवारका छोराछोरी पनि त्यही स्कुलमा
तुलसीपुर मावि सेन्टरमा शिशुदेखि डिप्लोमासम्मका ५९ वटा कक्षा हुन्छन् । विद्यार्थीको चाप थेग्न नसकेर इन्ट्रान्स लिएर मात्र विद्यार्थी भर्ना लिने गरिन्छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले सरकारी कार्यालयका हाकिमदेखि विद्यालयका शिक्षक तथा कर्मचारी र सर्वसाधारणको पहिलो रोजाइ मावि तुलसीपुर सेन्टर नै पर्ने गरेको बताए ।
२०८१ सालदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई त्यही स्कूलमा पढाउनुपर्ने नियम लागू गरिएको छ । ‘दुई जना शिक्षकले यहाँ छोराछोरी पढाउन मान्नुभएन, त्यसोभए तपाईंहरू यहाँबाट जान सक्नुहुन्छ भनेर बिदा नै गरियो’, प्रअ पौडेलले भने ।
बालबालिकाहरूलाई स्याहार र पोषणयुक्त खानेकुराको व्यवस्था गर्न गाह्रो भएपछि यस वर्षदेखि ३ कक्षादेखि तलका बच्चाबच्चीलाई भने बाहिर पढाउन छुट दिइएको छ ।