आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना धेरैजसो भाषणमा शतप्रतिशत बजेट खर्च गरेर देखाउने बताउंदै आएका थिए । यद्यपि, पछिल्ला दिनमा उनले यो विषय उल्लेख गर्नै छाडेका छन् । कारण, उनले भनेजस्तो शत प्रतिशत बजेट खर्च हुने सम्भावना क्षीण छ ।

प्रदेश ५ सरकारले २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट स्वीकृत गरेको थियो । विभिन्न मन्त्रालयले उक्त बजेट बाँडफाँट गरी १९ अर्ब ३० करोड ३५ लाखको बजेट कार्यान्वयन गर्न मातहतका कार्यालयहरुलाई अख्तियारी दिएकामा पुस मसान्तसम्म २ अर्ब २३ करोड ९१ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालुतर्फको ६ अर्ब ७० करोड ४३ लाख बजेटमा एक अर्ब ५८ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ भने पुँजीगततर्फ १२ अर्ब ५९ करोड ९२ लाखको बजेटमा ६ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।
प्रकाशित मिति २०७५ माघ १७ गते बिहिबार ११:०१